News Portal

संक्रमणको बेला राष्ट्रपतिको राजसी सवारी

रातोपोस्ट
७०२ पटक

काठमाडौं। लकडाउनले सुनसान बनेका फराकिला सडक अझै सुनसान पारिए । तीनै सुनसान सडकको बीचबीचमा सुरक्षाकर्मी तैनाथ छन् । दृश्य देख्दा लाग्छ, यत्रो सुरक्षाकर्मी किन राखिए होलान् ?

शुक्रबार सितलनिवासदेखि नयाँ वानेश्वरसम्मको सडकमा सुरक्षाकर्मीमात्रै देखिए । कारण थियो, राष्ट्रपति विद्यादेवी भण्डारीको सवारी । अरू बेला सर्वसाधारणलाई सडकमा उभ्याएर सवारी हुने राष्ट्रपति शुक्रबार भने खुला सडकमा जम्बो सुरक्षाफौज लिएर नयाँ वानेश्वरतर्फ लागिन् ।

सर्वसाधारणको ओहोरदोहोर रोकिएको बेला उनलाई सुरक्षा प्रदान गर्न उपत्यकाका अधिकतर सुरक्षाकर्मी परिचालित थिए । उनको सवारी चलाउन बिनामास्क सडकमा तैनाथ सुरक्षाकर्मी परिचालित थिए । उनको अघि–पछि तैनाथ भएका सुरक्षाकर्मीले मास्कधरी लगाउन पाएका थिएनन् । राष्ट्रपतिको सवारीका कारण सुरक्षाकर्मीले भौतिक दुरीसमेत कायम राख्न सकिरहेका थिएनन् ।

सरकारको आगामी नीति तथा कार्यक्रम सार्वजनिक गर्न शुक्रबार दिउँसो ४ः१० बजे उनी संसद् भवन ओर्लिइन् । हातमा पञ्जा र मास्क लगाएकी राष्ट्रपति संसद् भवनतर्फ अघि बढिन् । सँगसँगै थिए, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, थुप्रै मन्त्री, नेता र सांसदहरू ।

कोरोना महामारीले मुलुक थला परिरहेको बेला राष्ट्रपतिको सवारी पनि सामान्य होला भन्ने अनुमान धेरैको थियो । सादा ढंगले उनी संसद् भवन पुग्छिन् होला भन्ने सोचेका सर्वसाधारणले राष्ट्रपतिको सवारीमा पुरानै छनक पाए । यो समाचार आजको नागरिक दैनिकमा शिवहरि घिमिरेले लेखेका छन् ।

प्रतिकृया दिनुहोस्