News Portal

लकडाउनमा स्थानीय तह, प्रहरी र युवा संघसँगको मिलेमतोमै खोला दोहन, नियम कानूनको धज्जी

रातोपोस्ट संवाददाता
६५६ पटक

झापा । झापाको दमकमा स्थानीय तह, प्रहरी र राष्ट्रिय युवा संघ झापाका जिल्ला अध्यक्षको मिलेमतोमा लकडाउनमा खोला दोहन भएको पाईएको छ ।

दमक नगरपालिका वडा नम्बर १ र २ को सिमानामा पर्ने रतुवा खोलामा नयाँ बन्दै गरेको पुलमुनि प्रहरी र युवा संघका अध्यक्षको मिलेमतोमा खोला दोहन भएको पाईएको हो ।

स्थानीय कुमार राईले सो बिषयमा बिरोध गर्दा ईलाका प्रहरी कार्यालय दमकका डीएसपी विजय पण्डितले पक्राउ गरी थुनामा समेत राखेका थिए ।

मापदण्ड विपरीत खोला दोहन भएपछि स्थानीयले बिरोध गरेपनि प्रहरीले पक्राउ गरेर थुनामा राख्ने गरेको स्थानीयको गुनासो छ ।

स्थानीय कुमार राईले भने, ‘पुलमुनि नै धमाधम मापदण्ड विपरीत खोला दोहन भएपछि हामीले विरोध गर्दा मलाई पक्राउ गरियो, यहाँ मिलेमतोमा मात्र काम हुँदो रहेछ ।’ उनले राष्ट्रिय युवा संघ झापाका जिल्ला अध्यक्ष शम्भु भण्डारीको नेतृत्वमा र डीएसपी पण्डितको मिलेमतोमा खोला दोहन भईरहेको आरोप लगाए ।

उनका अनुसार मापदण्ड विपरीत विभिन्न मानिसहरुको मिलेमतोमा अहिलेसम्म ५ सय भन्दा बढी टिपरमा बालुवा बेचिएको छ । साथै ३ सय जति स्टक गरेर राखेको अवस्था रहेको उनले राताे पाेस्टलाइ बताए। खुलेआम रुपमा खोला दोहन भइरहेको भएपनि प्रहरीले बेवास्ता गरेको स्थानीयको आरोप छ ।

खोलाबाट बालुवा संकलन गर्नका लागि पुलको आसपास भन्दा ५ सय मिटर वरपर हुुनुपर्ने भएपनि पुल मुनि नै बालुवा दोहन भईरहेको स्थानीयले जानकारी दिएका छन् । बालुवा संकलनका लागि जिल्ला समन्वय समितिले सिफारिस गर्नुपर्ने भएपनि यहाँ वडाध्यक्षको हस्ताक्षरमा सिफारिस गरिएको छ । जुन मापदण्ड विपरीत रहेको छ ।

दमक नगरपालिकामा पर्ने खोला भएपनि कमल गाउँपालिकाले सिफारिस दिएको छ । कमल गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष डम्बरबहादुर निरौलाको हस्ताक्षरमा जारी एक पत्रमा भनिएको छ–‘यस कमल गाउँपालिका ५ र दमक १ मा पर्ने पुल निर्माण भईरहेको अवस्थामा कमल गाउँपालिकाका ५ नम्बरनकै भागको पुलमुनि उक्त भागमा निकाश गर्न सिफारिस गरिएको छ ।’

जिससले सिफारिस गर्नुपर्ने भएको भएपनि वडाध्यक्षको हस्ताक्षरमा खोला दोहन गर्न खुलेआम रुपमा निर्देशन दिएपछि स्थानीय आक्रोशित छन् ।

उता, राष्ट्रिय युवा संघ झापाका अध्यक्ष शम्भु भण्डारीले भने आफ्नो गाडी भाडामा लगेको भन्दै आफ्नो बचाउ गरे । पुलमुनिको मेटिरियल हटाउनुपर्ने हुन्छ, त्यही भएर हाम्रो गाडी अरुले भाडामा लगेको हो बताए ।

यता, ईलाका प्रहरी कार्यालय दमकका डीएसपी विजय पण्डितले भने आँफूले अहिले जानकारी पाएपछि खोला दोहन हुने काम नभएको जिकिर गरे । उनले भने, ‘हामीकहाँ खबर आएर त्यो काम रोकेको छ, बाँकी कुरा थाहा भएन ।’ उनले कसले के गर्छन् आँफूलाई सबै थाहा नहुने बताए ।

प्रतिकृया दिनुहोस्