News Portal

नेपालको ३८ जिल्ला पुग्यो कोरोना भाइरस, कुन जिल्लाको अवस्था कस्तो ?

रातोपोस्ट संवाददाता
१०३५ पटक

काठमाडौं। ४ महिनामा नेपालको ३८ जिल्लामा कोरोना भाइरस संक्रमण फैलिइसकेको छ ।

नेपालमा माघ ९ गते पहिलोचोटी देखिएको कोरोना भाइरस संक्रमणले हालसम्म दुई जनाको ज्यान लिइसकेको छ भने ३८ जिल्लाका ४०२ जनालाई संक्रमित बनाइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार महिनाको अवधिमा हालसम्म ३८ जिल्लामा भाइरस संक्रमण देखिइसकेको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार मात्रै ललितपुर, सिन्धुली, लमजुङ र रामेछाप जिल्लामा पहिलो पटक संक्रमण पुष्टि भएको छ । ती जिल्लाहरुमा एक–एक जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै काठमाडौंमा तीन जना संक्रमित थपिएका छन् । योसँगै काठमाडौंमा संक्रमितको संख्या १२ पुगेको छ भने त्यसमा पाँच जना निको भएर घर फर्किएको मन्त्रालयले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार मंगलबार २७ जना थपिएसँगै कूल संक्रमितको संख्या ४०२ पुगेको छ । यस्तै सबै प्रदेशमा कोरोनाको संक्रमण फैलिसकेको छ । कर्णाली प्रदेशमा सोमबार दैलेखमा एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सबै प्रदेशगत रुपमा सबै प्रदेशमा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

हालसम्म पर्सा, रुपन्देही, उदयपुर, कपिलवस्तु, बाँके, काठमाडौं, धादिङ, कैलाली, बारा, धनुषा, रौतहट, बाग्लुङ, चितवन, झापा, महोत्तरी, भक्तपुर, बर्दिया, भोजपुर, कञ्चनपुर, नवलपरासी, सप्तरी, सर्लाही, नवलपुर, मकवानपुर, दाङ, काभ्रे, सिरहा, सिन्धुपाल्चोक, मोरङ, धनकुटा, गुल्मी, खोटाङ, दैलेख, सुनसरी, ललितपुर, लमजुङ, रामेछाप र सिन्धुलीमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म ३७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । यस्तै दुई जनाको मृत्यु भएको छ । गत २४ घण्टामा २ हजार २४० सहित अहिलेसम्म पीसीआर विधिबाट ३२ हजार ६०४ जनाको नमुना परीक्षण गरिएको छ ।

यस्तै गत २४ घण्टामा ५ हजार ८९ सहित अहिलेसम्म ७४ हजार ६४९ वटा आरडिटी परीक्षण भएका छन् । प्रवक्ता देवकोटाका अनुसार प्रदेश नम्बर–१ मा ९ हजार ४७३, प्रदेश–२ मा ९ हजार २१६, बागमती प्रदेशमा १३ हजार १९७ र गण्डकी प्रदेशमा ६ हजार ९५७ जनाको आरडिटी परीक्षण भएको छ । यस्तै प्रदेश–५ मा ९ हजार ३५३, कर्णाली प्रदेशमा ७ हजार ५९३ र सुदूरपश्चिम प्रदेशमा १८ हजार ८७० जनाको आरडिटी परीक्षण भएको छ ।

उपत्यकामा १७ र बाहिर ४४० जना गरी ४५७ जना आइसोलेसनमा छन् । प्रदेश–१ मा ४०, प्रदेश–२ मा १३७ र बागमती प्रदेशमा ७८ (उपत्यका १७ सहित) जना आइसोलेसनमा रहेको मन्त्रालयले जानकारी दिएको छ । गण्डकी प्रदेशमा २, प्रदेश ५ मा १८८, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिममा ११ जना आइसोलेसनमा छन् ।

अहिले देशभरीका क्वारेन्टाइनमा २१ हजार ६२३ जना छन् । प्रदेश–१ मा एक हजार १७८, प्रदेश–२ मा ३ हजार ४८१, बागमती प्रदेशमा ३३२ र गण्डकीमा ३५९ जना क्वारेन्टिनमा छन् । प्रदेश–५ मा १३ हजार ६३८, कर्णाली प्रदेशमा ६९९ र सुदूरपश्चिम प्रदेशमा एक हजार ९३६ क्वारेन्टाइनमा छन् ।
सरकारले प्रदेश–२ र ५ का प्रभावित क्षेत्रलाई केन्द्रीत गरी कम्तिमा १०—१० जना चिकित्सको टोली खटाउने निर्णय पनि गरेको छ ।

अब शुल्क तिरेर कोरोना परीक्षण गर्न सकिने

अहिले देशका विभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या बढेसँग मानिसका बढ्दो संक्रमणले त्रास सिर्जना गरेको छ ।

सरकारलाई कोरोना परीक्षणको दायरा बढाउन माग भइरहे पनि सोंचे अनुसार परीक्षणलाई तीब्र बनाउन सकिरहेको छैन । जसका कारण कोरोना परीक्षण गराउन चाहने सर्वसाधरण सीमित स्वास्थ्य संस्थाको भर पर्न बाध्य छन् । तर, अब शुल्क तिरेर पनि कोरोना भए–नभएको परीक्षण गर्न पाइने भएको छ । कोरोनाको लक्षण नदेखिए पनि अब शूल्क तिरेर पीसीआर परीक्षण गर्न पाइने भएको हो ।

स्वेच्छाले पीसीआर परीक्षण गर्न चाहने व्यक्तिले सार्वजनिक स्वास्थ्य संस्थाहरुमा तोकिएको दररेटमा परीक्षण गराउने नीतिगत व्यवस्था गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज नियमित पत्रकार सम्मेलनमा जानकारी गराएको छ । मन्त्रालयका प्रवक्ता देवकोटाले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा शुल्क तिरेर पीसीआर परीक्षण गर्न पाउने व्यवस्था मिलाइएको जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्