News Portal

दुई जना प्रहरीमा कोरोना पुष्टि भएपछि कालीमाटी वृत्त शिल

रातोपोस्ट संवाददाता
३८३ पटक

काठमाडौं । काठमाडौंस्थित कालिमाटी प्रहरीमा कार्यरत दुई प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

वृत्तमा कार्यरत एक प्रहरी सहायक निरीक्षक (सई) र प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार साँझ आएको पिसिआर रिपोर्टमा दुई जना प्रहरीमा कोरोना संक्रमण देखिएको वृत्तका प्रमुख डिएसपी रूगम कुँवरले जानकारी दिए। संक्रमित सई र प्रहरी जवानलाई मंगलबार साँझ नै सशस्त्र प्रहरीको अस्पतालमा पठाइएको बताए ।

संक्रमणको कुनै संकेत नदेखिएको भए पनि गत आइतबार वृत्तमा कार्यरत केही प्रहरीहरुको स्वाब परीक्षण गरिएको थियो । उक्त परीक्षणको रिपोर्ट हिजो (मंगललबार) साँझ आएको र उनीहरुमा कोरोना संक्रमण देखिएको स्रोतले जानकारी दिएको छ ।

ड्युटी बन्द गरी पुरै वृत्त ‘शिल’

महानगरीय प्रहरी वृत्त कालिमाटीका दुई प्रहरीमा कोरोना संक्रमण देखिएपछि मंगलबार राति नै सबैको ड्युटी बन्द गरी पुरै वृत्त शिल गरिएको छ । वृत्तभित्र ट्राफिक प्रहरीको कार्यालय तथा महिला ब्यारेक समेत रहेको छ ।

वृत्तमा दुई सय बढी प्रहरी कार्यरत रहेको र आज सबै प्रहरीको स्वाबको नमुना संकलन गर्न लागिएको छ । कोरोना संक्रमण पुष्टि भएका सई र जवान पनि प्रहरी ब्यारेकमै बस्ने गरेका थिए । अब उनीहरुको परिवारको सदस्यको पनि नमुना संकलन गर्न लागिएको प्रहरीले जनाएको छ ।

वृत्त पूरै सिल गरिएपछि अहिले कालीमाटी वृत्तको क्षेत्रभित्र रहेको स्थानको सुरक्षा तथा ड्युटीको जिम्मा काठमाडौं परिसरले लिएको छ । अब ती स्थानहरुमा प्रहरी खटाउने र सुरक्षाको व्यवस्थापन गर्ने जिम्मा काठमाडौं परिसरले गर्ने स्रोतले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्