News Portal

अदालतले भिडिओ कलबाटै सुनायो मृत्युदण्डको फैसला

रातोपोस्ट
१२१५ पटक

एजेन्सी। सिंगापुरले लागूऔषध कारोवारीमा संलग्न भएको भन्दै एक मलेसियन युवकलाई ‘जूम भिडिओ कल’ मार्फत नै मृत्युदण्ड सुनाएको छ ।

सिंगापुरमा यसरी टाढैबाट ‘भर्चुअल’ माध्यमबाट मृत्युदण्डको सजाय सुनाइएको पहिलो घटना हो । पुनिथन गेनसान नामका ३७ वर्षीय मलेसियन नागरिकमाथि सिंगापुरले शुक्रबार यस्तो सजाय सुनाएको हो ।

यहाँको अदालतका अनुसार २०११ मा ती युवा गैरकानुनी रुपमा लागूऔषध लेनदेनमा जिम्मेवार थिए । कोरोनाभाइरस विरुद्ध लकडाउनका कारण ती युवालाई भिडिओ कल मार्फत नै सजाय तोकिएको हो ।

मलेसियन ती नागरिक स्वयं पनि भिडिओ कलमा संलग्न थिए । सर्वोच्च अदालतका प्रवक्ताका अनुसार यसरी भौतिक रुपमा टाढा नै रहेर मृत्युदण्ड सुनाइएको सिंगापुरमा यो पहिलो घटना हो ।
यद्यपि अधिकारकर्मीहरुले यस्तो राष्ट्रिय मुद्दामा जूम कलमार्फत फैसला सुनाइनु उचित नभएको भन्दै आलोचना गरेका छन् ।

सिंगापुरमा लकडाउनको अवधिमा तोकिएका सुनुवाइ स्थगित भइरहँदा यस मुद्दा जस्तै अत्यावस्यक मुद्दामा अदालतले टाढैबाट फैसला गर्न थालेको छ । अमेरिकाबाट सुरु भएको जूम भिडिओ कल पछिल्लो समय सरकारी कामकाजमा पनि प्रयोग गर्न थालिएको छ ।

प्रतिकृया दिनुहोस्