News Portal

हवाई उडानमा जेठ मसान्तसम्म बन्द गर्ने निर्णय

रातोपोस्ट संवाददाता
४३५ पटक

काठमाडौं। सरकारले अन्तर्राष्ट्रिय उडान र सीमा नाका जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो ।

‘मंगलबार बसेकै उच्च स्थायीय समिति बैठकले जेठ १८ गतेसम्म बन्द गरिएको हवाई उडान र सीमा नाकालाई जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले भने, ‘प्रेस ब्रिफिङपछि छोटो समय बसेको बैठकले यो निर्णय गरेको हो ।’

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले जेठ २० गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको थियो।

त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो। त्यसलाई निरन्तरता दिँदै वैशाख ३, त्यसपछि १२ दिन लकडाउनको अवधि थपेर वैशाख १५ र १० दिन थप गर्दै वैशाख २५, त्यसपछि पटक जेठ ५ गतेसम्म लकडाउन गरेको थियो । जेठ ४ गते बसेको मन्त्रिपरिषद बैठकले जेठ २० गतेसम्म लकडाउनको अवधि थप गरेको थियो।

नेपालमा कोरोना भाइरस संक्रमणबाट अहिलेसम्म दुई जनाको मृत्यु भएको छ । बुधबारसम्म ४२७ जनामा कोरोना पुष्टि हुँदा ४५ जना निको भएका छन् । संक्रमणको दर बढ्दै जाँदा सरकारले लकडाउनमा थप कडाइसमेत गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्