News Portal

कोरोनाबाट तेस्रो मृत्यु: अस्पतालको लापरबाहीले ज्यान गएको भन्दै आफन्तले उठाउन मानेनन् शव

सेतोपाटी
६१२ पटक

काठमाण्डाै। बिहीबार कोरोनाभाइरसको संक्रमणबाट गुल्मीका ४१ वर्षीय शिक्षकको शव ११ घन्टा बित्दा पनि उठेको छैन। तिलोत्तमाको मणिग्रामस्थित क्रिमसन अस्पतालमा मृत्यु भएका उनका आफन्तले अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको र क्षतिपूर्तिको माग गर्दै शव नउठाउने बताएका छन्।

मृतकका भाइले अस्पतालको लापरबाहीको कारण दाजुको मृत्यु भएको भन्दै छानबिन र क्षतिपुर्ति नदिँदासम्म अस्पतालबाट शव नउठाउने बताएका छन्। जेठ १ गते जन्डिस, ज्वरो र रुघाखोकी देखिएपछि गुल्मीको मदाने गाउँपालिका-६ पुर्कोट दहबाट उपचारको लागि उनी अस्पताल आएका थिए।

गुल्मीको स्थानीय मेडिकल हल, स्वास्थ्य चौकी, अर्घाखाँचीको सन्धिखर्कस्थित छाँया पोलिक्लिनिक हुँदै क्रिमसन अस्पतालमा आएका उनलाई जेठ ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसअघि अस्पताल आएको भोलिपल्ट परीक्षणको लागि भन्दै अस्पतालले ढाडबाट पानी निकालेपछि बिरामी अचेत भएको र भेन्टिलेटरमा राखिएको बिरामीका आफन्तले बताएका छन्।

‘त्यो दिन बिहानसम्म दाइ राम्रो हुनुहुन्थ्यो, पाउरोटी र दुध खानुभयो, बोलिचाली राम्रै थियो तर परीक्षणका लागि भन्दै ढाडबाट पानी निकालेपछि अचेत भएर भेन्टिलेटरमा राखिएको हो,’ मृतकका भाइले भने। उनले बिरामीको ढाडबाट पानी निकालेर के परीक्षण गरिएको हो भन्नेसमेत अस्पतालले जानकारी नदिएको आरोप लगाए।

अस्पतालमा ल्याएपछि आफूहरूले हेलिकप्टर मगाएर काठमाडौं लैजान खोजे पनि अस्पतालले काठमाडौं लैजान नपर्ने बताएर यहीँ राखेको उनको भनाइ छ। आफूहरूकै पहलमा जेठ २ गते कोरोना परीक्षणका लागि स्वाब पठाएकोमा ५ गते त्यसको रिपोर्ट पोजेटिभ आएपछि भने अस्पतालले कुनै पनि उपचार नगरेको उनको दाबी छ। ‘जब कोरोना पोजेटिभ भनेर रिपोर्ट आयो त्यसपछि आइसियूमा भेन्टिलेटर लगाएरमात्रै राखियो, कुनै उपचार गरिएन,’ उनले भने।

त्यसयता आइसियूमा नर्स र डाक्टरसमेत नगएको उनको भनाइ छ। कोरोना पुष्टि भएको तीन दिनसम्म आफूहरुलाई समेत हेर्न जान नदिइएको उनले दाबी गरे। ‘बुधबार बिहान जब दाजुको मृत्यु भएको भन्ने समाचार विभिन्न सञ्चारमाध्यमबाट बाहिरियो त्यसपछि बल्ल आइसियूमा हेर्न हिँड्नु भन्दै हामीलाई लगेका हुन्,’ उनले भने।

बुधबार बिहान आइसियूमा हेर्न जाँदा त्यहाँ बिरामीको उपचार भएको भन्ने कुनै पनि चिन्ह नदेखिएकोले अस्पतालको लापरबाहीबाट नै संक्रमितको मृत्यु भएको उनले दाबी गरे। ‘आइसियूमा दाइलाई भेन्टिलेटर लगाइए पनि झ्यालको शिशा खुल्लै थियो, सोफा बांगो बनाएर राखिएको थियो, हामीलाई लैजाँदा पनि मुख्य ढोकाबाट नभई ह्विलचियर हिँडाउने बाटोबाट लगिएको थियो,’ उनले भने।

यस्तै उनले दाजुलाई कोरोना संक्रमण भएको भन्नेमा पनि आशंका व्यक्त गरेका छन्। ‘गाउँमा अहिलेसम्म कसैलाई पनि कोरोना देखिएको छैन, दाइ कतै जानुभएको छैन, उहाँलाई कसरी कोरोना संक्रमण देखियो? हामीलाई विश्वास लागेको छैन,’ उनले भने।

मृतक पुरुषको सबैभन्दा पहिले उपचारमा संलग्न अर्घाखाँचीको छाँया पोलिक्लिनिकका सञ्चालक, चिकित्सक र उनलाई सन्धिखर्कदेखि अस्पतालसम्म ल्याउने एम्बुलेन्स चालकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले शव उठाउने विषयमा अस्पताल प्रशासन र मृतकका आफन्तसँग छलफल भइरहेको जानकारी दिए। ‘हामी अस्पताल प्रशासन र मृतकका आफन्तसँग छलफल गरिरहेका छौं, छलफलपछि शव उठाइने छ,’ उनले भने।

प्रतिकृया दिनुहोस्