News Portal

हल्दिबारीले छिमेकी गाउँपालिकाका सबै नाका बन्द गर्ने

रातोपोस्ट संवाददाता
८३४ पटक

झापा। हल्दिबारी गाउँपालिकाले छिमेकी गाउँपालिकासँगका सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको छ।

छिमेकी गाउँपालिकामा कोरोना संक्रमित फेला परेपछि रोकथामका लागि कचनकवल र बाह्रदशी गाउँपालिका तर्फका चारैतिरका सीमा नाका बन्द गर्ने निर्णय गरेको हो।

कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन समितिको जेठ ७ मा बसेकाे आकस्मिक बैठकले स्थानीय प्रहरी र वडा मार्फत स्वयंसेवक परिचालन गरि नाका बन्द गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले बताए ।

गाउँपालिकाका अध्यक्ष लिङ्देनको अध्यक्षतामा बसेको बैठकले संक्रमण फैलिई महामारीको रुप लिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै लकडाउनलाई थप कडा गर्न निर्णय गरेको गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले जानकारी दिए।

गाउँपालिकामा निर्माणाधीन अवस्थामा रहेका आयोजनाका लागि आवश्यक निर्माण सामाग्री ढुवानी गर्ने सवारीहरुलाई पास दिने भएकाे छ भने अनावश्यक सवारी साधनलाई नियन्त्रण गरि नियमानुसार जरिवाना गर्ने निर्णय गरेको छ ।

बैठकले गाउँपालिकामा स्थायी बसोबास भई भारत लगायत अन्य मुलुकबाट आउने सबैलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने, संक्रमण फैलन नदिन बाहिरबाट फर्कने व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्न हल्दीबारी १ को जनजागृति मावि र हल्दीबारी ४ को महेन्द्र माविमा क्वारेन्टाइन निर्माण गर्ने साथै अन्य वडामा समेत क्वारेन्टाइन निर्माण गर्नका लागि वडाभित्रका उपयुक्त विद्यालयको पहिचान गरि तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउने निर्णय गरेको प्रवक्ता पोर्तेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्