News Portal

  • कोरोना विरुद्धको लडाईमा सबै एकजुट भएर अघि बढ्न नगरप्रमुख आचार्यको आग्रह

    रातोपोस्ट संवाददाता
    ८०८ पटक

    झापा । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले नगरलाई कोरोनामुक्त बनाउन भइरहेका गतिविधिबारे नगरवासीमा भ्रम नफैलाउन आग्रह गरेका छन् । शनिबार नगर कार्यपालिकाको सभाकक्षमा पत्रकारसँग कुराकानी गर्दै उनले नगरवासीमा यस्तो आग्रह गरेका हुन् ।

    ‘नगरलाई कोरोनाबाट जोगाउन हामी प्रयत्नशील छौं’ नगरप्रमुख आचार्यले भने–‘नगरवासीमा त्रास उत्पन्न गराउने अभिव्यक्ति पोष्ट नगर्न सम्पूर्णमा हामी अपिल गर्छौं ।’ उनले विश्व कोरोनाको चपेटामा परिरहेकाबेला उपलब्ध स्रोत र साधनको उपयोग गरी नगरलाई सुरक्षित राख्न कुनै कसर बाँकी नराखिने प्रतिबद्धता जनाए ।

    ‘कोरोना नियन्त्रणका लागि नगरले अघि सारेका कार्यशैलीप्रति शंका नगर्न नगरवासीमा हाम्रो अनुरोध छ’ नगरप्रमुख आचार्यले भने–‘नगरपालिका व्यक्ति होईन, संस्था हो, संस्थाको गरिमामाथि आँच आउने काम नहोस् ।’सामाजिक सञ्जालमार्फत् जनतालाई थर्काउने, स्थानीय सरकारलाई ठेस पुर्याउने र नागरिकको मनोबल कमजोर पार्ने गतिविधि बढेकोप्रति उनले चिन्ता प्रकट गरे ।

    ‘मेचीनगरको भूमिमा पाइला टेक्ने नेपाली नागरिकको जिम्मेवारी लिन हामी तयार छौं, हरेक जिल्लाका नागरिकलाई संरक्षण गर्ने दायित्व हाम्रो पनि हो’ उनी भन्छन्–‘जिल्लामा बैठक बसेर मात्र हुँदैन, नाकामा अविलम्ब हेल्पडेक्स स्थापना गर्नुको विकल्प छैन् ।’

    पश्चिम बंगालका विभिन्न क्वारेन्टाइनहरुमा नेपालीहरु अव्यवस्थित रुपमा बस्नुपरेको चर्चा गर्दै नगरप्रमुख आचार्यले आफ्नो देश फर्कन पाउनुपर्ने हरेक नागरिकको अधिकार भएपनि ल्याउन र व्यवस्थापन गर्न चुनौतिपूर्ण बनेको बताए ।

    कोरोना संक्रमण विरुद्ध जुध्न नगरले लिएको पहलकदमी बारे सञ्चारकर्मीलाई स्पष्ट पार्दै नगर उपप्रमुख मीना उप्रेतीले हालसम्म भारतबाट ११ सय नेपाली काँकरभिट्टा नाका हुँदै भित्रिएको जानकारी गराइन् ।

    ‘अहिले भइरहेको लकडाउनको स्वरुपमा केही परिवर्तन गर्ने योजना नगरले बनाएको छ’ उनले भनिन्–‘कोरोना नियन्त्रणमा सञ्चारक्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ, यसमा नगरले गरेका गतिविधिलाई सकारात्मक रुपमा सम्प्रेषण गर्न हामी अनुरोध गर्छौं ।’

    पत्रकार सम्मेलनमा बोल्दैं उपप्रमुख मीना पोखरेल उप्रेतीले नराम्रो कामको आलोचना गरिरहदा राम्रो कामको पनि प्रशंसा गर्न आवश्यक रहेको बताइन् । उनले नोेवल कोरोना भाइरस कोभिड १९ को संक्रमण शुरुभए लगत्तै मेचीनगर नगरपालिकाले नाका विभिन्न संघ संस्था, व्यवसायी, राजनीतिक दललगायतको सहयोग र समन्वयमा जिल्लामै नोवल कोरोना भाइरस कोभिड १९ परामर्श सहायत कक्षको स्थापना गरी यसको संक्रमण रोकथमका लागि विभिन्न काम गरेको जानकारी गराइन् ।

    शुरुमा तापक्रम नाप्ने काम गरेको भएपनि अहिले शंकाष्पद व्यक्तिको आरडिटी आवश्यक परे पीसीआर सम्मको परीक्षणको व्यवस्था मिलाइएको उपप्रमुख उप्रेतीको भनाई छ ।

    झापाका १५ वटा पालिकामध्ये जनसंख्या र भौगोलिक दृष्टिकोणले मेचीनगर नगरपालिका ठुलो भएको भाारतको पश्चिम बंगाल राज्यसँग प्रत्यक्ष सीमा जोडिएकाले निक्कै चुनौतीको साथ अघि बढ्नु परेको भएपनि यसलाई अवसरका रुपमा लिएर नगरवासीको हितका लागि भोग र रोगले मृत्युवरण गर्नु नपरोस भनेर अहोरात्र नगरवासीकैपक्षमा सक्रिय रहेको उपप्रमुख मीना पोखरेल उप्रेतीले वताइन् ।

    यही जेठ ८ गते पूर्वी नाका हुँदै आएका विभिन्न जिल्लाका ३३६ जना नागरिकको काँकरभिट्टामा आरडिटी परीक्षण गरिएको र तीमध्ये १५ जनामा एण्टिबडी पोजिटिभ देखिएको छ ।

    एण्टिबडी पोजिटिभ देखापरेका उनीहरुलाई झापाको कलवलगुडी र मेची बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको पीसीआर परीक्षणका लागि विराटनगरस्थित कोरोना प्रयोगशालामा पठाइएको स्वास्थ्य कार्यालय भद्रपुरले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)