News Portal

रुकुम पश्चिम घटना : हराएका एक युवाको शव फेला पर्‍यो, मृतकको सङ्ख्या ४ पुग्यो

रातोपोस्ट संवाददाता
६०४ पटक

काठमाडौं। रुकुम पश्‍चिम घटनामा भेरी नदीमा हराइरहेका अर्का एक युवाको शव फेला परेको छ ।

बेपत्तामध्ये लोकेन्द्र सुनारको शव फेला परेको भेरी नगरपालिकाका मेयर सीपी घर्तीले जानकारी दिए । “बेपत्तामध्ये थप एकजनाको शव फेला परेको छ । उनी लोकेन्द्र सुनार रहेको पुष्टि भएको । घटनामा अरू युवा पनि बेपत्ता छन् । उनीहरूको खोजी जारी छ । गोताखोरको सहायतामा खोजीलाई तीव्र बनाएका छौं,” घर्तीले भने ।

पश्चिम रुकुम चौरजहारी ८ की सोती गाउँकी किशोरीसँग अन्तरजातीय विवाद गर्न खोज्दा भएको घटनामा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । शनिबार किशोरीलाई भगाउन भेरी नगरपालिका ४ रानागाउँ र आसपासबाट १९ युवा चौरजहारी पुगेका थिए ।

किशोरी पक्षले आक्रमणबाट दुईजनाको ज्यान गएको र बाँकी युवा प्राण बचाउन खोलामा हामफालेको पीडित पक्षले बताएको छ । घटनामा ज्यान गुमाउने नवराज विक, टीकाराम सुनारको त्यही दिन राति १० बजेतिर शव फेला परेको थियो ।

गणेश बुढाको शव सोमबार फेला परेको थियो । दुईजना अझै बेपत्ता छन् । पीडित पक्षले २० जनाको नाममा किटानी जाहेरी दिइसकेको छ । प्रहरीले किशोरीका बाबुआमा, जनप्रतिनिधिसहित १२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्