News Portal

बाजुरा अस्पतालको आइसोलेसनमा रहेकी २ वर्षीया बालिकाको मृत्यु

कान्तिपुर
७१२ पटक

बझाङ। बाजुराको सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालको आइसोलेसनमा राखिएकी बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । बुढीगंगा नगरपालिका–१ घर भएका २ वर्षीया बालिकाको आइतबार बिहान मृत्यु भएको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र विश्वकर्माले जानकारी दिए ।

मृतक बालिकाको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि धनगढी प्रयोगशाला पठाइएको थियो । पीसीआर रिपोर्ट आउन बाँकी रहेको जिल्ला अस्पतालले जनाएको छ । बालिकाको शव व्यवस्थापन परीक्षण रिपोर्ट आएपछि मात्र गरिने अस्पतालले जनाएको छ ।

बुढीगंगा नगरपालिका–१ घुरालसैना माविको क्वारेन्टाइनमा बालिका आफ्ना बाबुआमासँगै थिइन् । बालिकासहित आमाबुवाको स्वाब संकलन गरी धनगढी पठाइएको थियो । अवस्था जटिल भएपछि उनलाई मार्तडीको जिल्ला अस्पतालको आइसोलेसनमा जेठ १५ गते साँझ राखिएको थियो । बालिका पखाला, ज्वरो र श्वासप्रश्वास समस्याबाट ग्रसित रहेकी थिइन् । ‘अवस्था निकै चिन्ताजनक रहेको र बचाउन नसकिएको’ उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

८ दिनअघि उनको परिवार भारतबाट आएको थियो । भारतबाट आएर बुढीगंगा नगरपालिकाको क्वारेन्टाइनमा राखिएको थियो । बालिकासंँगै उनका बुवा र र आमालाई पनि आइसोलेसनमा राखिएको थियो । उनी भारतबाट आउँदै गरेको अवस्थामा बाटोबाटै बिरामी थिइन् । यसअघि शनिबार राति डडेलधुरामा पनि क्वारेन्टाइनमा एक जना ६ वर्षीय बालकको मृत्यु भएको थियो

प्रतिकृया दिनुहोस्