News Portal

  • चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त

    रातोपोस्ट संवाददाता
    २७२ पटक

    काठमाडौं। सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा निर्देशक दयाराम दाहाललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दाहाललाई अध्यक्षमा नियुक्त गरेको हो । यस अघि चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तीन जनाको नाम सिफारिस गरेको थियो । मन्त्रालयले दर्खास्त दिने मध्ये तीन जनाको नाम सिफारिस गरेको हो ।

    मन्त्रालयले निर्देशक दयाराम दाहाल, नायक भुवन केसी र संस्कृतिकर्मी राजेश थापाको नाम सिफारिस गरेको मध्ये दाहाललाई अध्यक्षमा नियुक्त गरेको हो । अध्यक्ष पदका लागि उल्लेखित ३ जना बाहेक भगवतीकुमारी मैनाली, सोहित मानन्धर, अर्जुनकुमार डंगोल, ध्यानबहादुर सुब्बा, राजेन्द्रकुमार उप्रेती, परशुराम चौधरी तथा दीपक श्रेष्ठले पनि आवेदन दिएका थिए।

    यस अघि पदपूर्तिका लागि आवेदन दिन मन्त्रालयले योग्यतासहितको सार्वजनिक सूचना जारी गरेको थियो । चलचित्र विकास बोर्डका तत्कालीन अध्यक्ष केशव भट्टराईको गत वर्षको २९ मंसिरमा हृदयाघातका कारण निधन भएपछि सो पद रिक्त थियो । सो पदका लागि मन्त्रालयले वैशाख १६ गते सम्म आवेदन दिन सक्ने सार्वजनिक सूचना आह्वान गरेको थियो ।

    प्रतिकृया दिनुहोस्