News Portal

राष्ट्रघाती एमसिसीका विरुद्ध झापा लगायत देशभर नेकपाकाे मसाल जुलुस।

रातोपोस्ट संवाददाता
१०६३ पटक

झापा, जेठ २३ । नेत्रविक्रम चन्द (विप्लव ) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रघाती अमेरिकी परियोजना एमसीसी सम्झौताविरुद्ध झापा लगायत देशभर मशाल जुलुुस प्रदर्शन गरेको छ । झापामा मात्रै ३ स्थानमा मशाल जुलुस निकालिएको नेकपाले जानकारी दिएको छ । त्यस्तै मेचिकाेसी ब्युरो अन्तर्गतका जिल्लाहरु इलाम,पाँचथर,ताप्लेजुङ,सुनसरी र माेरङमा पनि राँकेजुलुस प्रदर्शन भएको पार्टी स्राेतले जानकारी दिएको छ।

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रमअन्तर्गत देशभरका विभिन्न स्थानमा एमसीसीका विरुद्ध पर्चा छर्नुका साथै मशाल जुलुस निकालिएको हो । जेठ १९ र २० गते देशैभरि सम्झौता जलाउने, २१ गते सम्झौताका नेपाली ठेकेदार प्रधानमन्त्री केपी वली र काङ्ग्रेस सभापति शेरबहादुर देउवाको पुतला जलाउने र २२ गते पर्चा वितरण गरी मशाल जलाउने कार्यसूचीअनुसार शुक्रबार देशभरका विभित्र जिल्लामा मशाल जुलुस निकालिएको पार्टी स्रोतले जनाएको छ ।

वली सरकारले नेपाली काङ्ग्रेसको समर्थनमा संसदबाट पास गर्न खोजिरहेको एमसीसी सम्झौताले नेपाली सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रताका विरुद्ध गम्भीर राष्ट्रघात गर्ने आपराधिक कार्य हुने भएकाले त्यसका विरुद्ध मशाल जुलुस निकालिएको नेकपाले जनाएको छ । लकडाउन र प्रतिबन्धलाई पनि वास्ता नगरी पार्टी समिति, जनवर्गीय सङ्गठनका नेता–कार्यकर्ता र स्थानीय देशभक्त जनताको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको नेकपाले जानकारी दिएको छ ।

पार्टीस्रोतका अनुसार मशाल जुलुस निकाल्नुका साथै पर्चाहरू पनि छरिएको थियो । कार्यक्रममा राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर ! सम्पूर्ण देशभक्त र राष्ट्रवादीहरू एक हौँ ! नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद ! वीर सहिदहरू लालसलाम ! कोरोनाको बहानामा भएको भ्रष्टाचार र राष्ट्रघात बन्द गर ! एकीकृत जनक्रान्ति जिन्दावादलगायत नाराहरू लगाइएको थियो ।

प्रतिकृया दिनुहोस्