News Portal

आरडीटी परीक्षणको भर पर्दा अकालमै युवकको ज्यान गयाे

ललितबहादुर बुढा
५२४ पटक

सुर्खेत, २३ जेठ : कर्णालीमा कोरोना परीक्षणमा गम्भीर लापरबाही भइरहेको छ। आरडीटी परीक्षणमा भर पर्दा सुर्खेतमा एक युवकको कोरोनाबाट मृत्यु भएको छ। जिल्लाको पञ्चपुरी नगरपालिका वडा नं. १ हाँसेगाउँका २० वर्षीय युवको कोरोनाबाट मृत्यु भएको हो।

भारतबाट आएका उनी १४ दिनसम्म नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका थिए। कोरोना संक्रमण भए/नभएको पुष्टि गर्न उनको आरडीटी परीक्षण गरिएको थियो। तर आरडीटीको रिपोर्ट नेगेटिभ आएको र क्वारेन्टाइन अवधि पूरा भएको भन्दै उनलाई क्वारेन्टाइनबाट बुधवार घर पठाइएको थियो। संक्रमण नभएको बताएपछि खुसी भएर घर पठाइएका ती युवको बिहीबार बिहान २ बजे घरमै मृत्यु भएको हो।

स्थानीयका अनुसार ती युवाले स्वास फेर्न कठिन भएको बताएका थिए। त्यही क्रममा उनको उपचार नै नपाएर मृत्यु भएको थियो। मृत्युपछि उनको बिहीबार मात्र स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिएको हो। सामाजिक विकास मन्त्रालययका अनुसार पीसीआर रिपोर्ट पोजेटिभ आएको छ। ती युवको मृत्यु कोरोनाबाटै भएको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले पुष्टि गरे।

मृतकका आफन्तले परीक्षणमा लापरबाही गरिएका कारण मृत्यु भएको बताएका छन्। आरडीटी परीक्षणको भर पर्दा युवकको अकालमै ज्यान गएको र गाउँ पनि जोखिममा परेको वडाध्यक्ष धनबहादुर थापाले बताए। उनका अनुसार मृतक युवा जेठ ८ गते भारतबाट आएपछि क्वारेन्टाइनमा बसेका थिए। ‘१४ दिनसम्म विद्यापुरको क्वारेन्टाइनमा बसेर उनी गाउँ आएका थिए’ वडाध्यक्ष थापाले भने, ‘आरडीटी गर्दा रिपोर्ट नेगेटिभ आएको थियो, कुनै स्वास्थ्य समस्या थिएन। तर घरमा पुगेपछि मृत्यु भयो, पहिले नै पीसीआर गरेको भए सायद बाँच्ने थिए।’

मृतक युवक ६ जना साथीहरुसँगै एउटै क्वारेन्टाइनमा बसेका थिए। परीक्षणमा लापरबाही भएको यो पहिलो घटना भने होइन यसअघि दैलेखका एक युवको पनि कोरोनाबाट मृत्यु भइसकेको छ। ती युवको पनि मृत्यु भएपछि मात्र पीसीआर परीक्षण गरिएको थियो। दुल्लुमा रहेको क्वारेन्टाइनमा बसेका ती युवकको पनि परीक्षण र उपचारमा गरिएको लापरबाहीबाट ज्यान गएको थियो। अहिले पनि कर्णालीमा अधिकांशलाई आरडीटी परीक्षण गरेर घर पठाउने गरिएको छ। आरडीटी नेगेटिभ भए पनि कोरोना संक्रमणबाट सुर्खेतमा युवको ज्यान गएपछि प्रदेश सरकारले अपनाई रहेको आरडीटी परीक्षणमै आशंका पैदा भएको छ। अन्नपूर्ण पोस्ट

प्रतिकृया दिनुहोस्