News Portal

झापाका १२ जना कोरोना संक्रमित डिस्चार्ज

रातोपोस्ट संवाददाता
७१६ पटक

मोरङ। झापाका १२ जना कोरोना भाइरस संक्रमित धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डिस्चार्ज भएका छन्। शनिबार प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले १८ वर्ष उमेरदेखि ५८ वर्षसम्मका १२ जना पुरुष कोरोनालाई जितेर घर फर्किएको जानकारी दिए।

प्रवक्ता डा. सापकोटाका अनुसार कोभिड संक्रमित १२ जनाकै पीसीआर परिक्षणमा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको हो। प्रतिष्ठानले हालसम्म १ सय ८३ जना संक्रमितलाई सेवा दिएको छ। जसमध्ये ८३ जना कोभिड १९ संक्रमित ब्यक्तिलाई उपचारका लागि प्रतिष्ठानमा भर्ना गरिएको छ। त्यसैगरि ३३ जना सफल उपचारपछि डिस्चार्ज भएको र ६५ जना स्थानान्तरण भएको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका अनुसार शनिबार दुई जना नयाँ संक्रमित उपचारका लागि भर्ना भएको र आरडीटी परिक्षणका क्रममा पोजेटिभ देखिएका एक जना ब्यक्तिलाई पनि प्रतिष्ठानमा राखिएको छ। प्रतिष्ठानले हालसम्म ४ सय ७२ वटा शंकास्पद नमूना संकलन गरेको छ। जसमा १४ जनामा संक्रमण देखिएको र ४ सय ५८ जनाको रिपोर्ट नेगेटिभ रहेको छ।

यद्यपि समग्रमा प्रतिष्ठानसँगै अन्य क्षेत्रबाट वीपीको ल्याबमा हालसम्म विभिन्न स्थानबाट ल्याइएका ५ हजार २ सय २८ वटा संकलित नमूना परिक्षण गरिएको छ। जसमा ५ हजार १ सय नमुना नेगेटिभ र १ सय ३० जनाको रिपोर्ट पोजेटिभ रहेको प्रवक्ता डा. सापकोटाले जानकारी दिए।

प्रतिकृया दिनुहोस्