News Portal

मृतकको अन्त्यष्टिपछि कोरोना पुष्टि, टोल नै सील गरेर मलामीको खोजी

रातोपोस्ट संवाददाता
४९६ पटक

काठमाडौं। कैलालीमा मृतकको अन्त्यष्टिपछि कोरोना संक्रमण भएको पुष्टि भएपछि मलामी तथा अत्येष्टीमा सहभागीको खोजी थालिएकाे छ।

सेती प्रादेशिक अस्पतालको डायलासिस वार्डमा शुक्रबार ज्यान गुमाएकी धनगढी उपमहानगरपालिका ४ की ५५ वर्षीया महिलाको शनिबार बिहान अन्त्यष्टि गरिएको थियाे। तर अन्त्यष्टिपछि मृतकको रिपोर्ट कोरोना पोजिटिभ देखिएपछि परिवार तथा स्थानीयमा त्रास फैलनुको साथै सहभागीहरुको कन्ट्क्याक्ट ट्रेसिङको लागि खोजी भैरहेको हो।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले अन्त्यष्टि अघि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा कोरोना पुष्टि भएकोे जानकारी दिए।

धनगढी उपमहानगरपालिका ४ का वडा अध्यक्ष दीपककुमार थापा क्षेत्रीले मृतकको अन्त्यष्टि शनिबार बिहान गरिएको बताए। वडा अध्यक्ष क्षेत्रीका अनुसार वडा नम्बर ४ महिमा टोलकी मृतकको अन्येष्टीमा करिब ४५ जनाको सहभागिता थियो। स्वास्थ्य कार्यालय कैलालीले अहिले ट्रेसिङमा जुटेको छ। कन्ट्क्याक्ट ट्रेसिङका लागि अन्त्यष्टिमा सहभागी सबैलाई खोज्न थालिएकाे हो।

कोरोनाको रिपोर्ट नआउँदै परिवारका सदस्यलाई शव दिएर अन्त्यष्टि भएपछि अहिले मृतकको घर भएको महिमा टोलमा त्रास फैलिएको छ। क्षेत्रीले भने, ‘अस्पतालले रिपोर्ट आउनुअघि मृतकको शव आफन्तलाई दिएर ठूलो कमजोरी गरेको छ। जुन कमजोरीका कारणले आफन्त र टोलमै त्रास फैलिएको छ ।’

लामोसमयदेखि मृगौलासम्बन्धी रोगबाटपीडित उनी पहिलो पटक डायलासिस गराउनका लागि सेती अस्पताल पुगेका थिइन्। डायलासिस अघि उनको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको थियो। मृतकमा कोरोना पुष्टि भएपछि डायलासिस वार्ड सिल गरिएको छ। त्यस्तै महिमा टोल पनि सिल गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले टोललाई सिल गर्ने प्रक्रियामा रहेको र मलामीमा सहभागी भएका सबैलाई होम क्वारेन्टाइनमा बसाउने पहल भैरहेको जानकारी दिए। यसँगै सुदूरपश्चिममा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ। यसअघि जेठ १८ गते सुदूरपश्चिममा पहिलो पटक कोरोना भाइरसबाट बाजुराकी २ वर्षीय बालिकाको मृत्यु भएको थियो।

भारतबाट फर्किएर क्वारेन्टिनमा बसेकी बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर १ की २ वर्षीया बालिकाको कोरोनाका कारण मृत्यु भएको थियो। मृतककी आमामा समेत कोरोना संक्रमण पुष्टि भएको थियो। उनको बाजुरा अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्