News Portal

पूर्वी नाकामा आजदेखि सेना परिचालन हुने

अर्जुन कार्की
१७३५ पटक

झापा। भारतबाट आउने नेपाली नागरिकहरुको सहजिकरणका लागि पूर्वी नाका काँकरभिट्टामा आजदेखि नेपाली सेना परिचालन गरिने भएको छ । गत विहीबार जिल्ला प्रशासन कार्यालय झापामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले काँकरभिट्टामा उच्चस्तरीय समिति बनाएर नेपाली सेना परिचालन गर्ने निर्णय गरेको हो ।

वैठकले यसअघि कचनकवलमा पनि नेपाली सेना परिचालन गरेको छ । सोहि अनुसार नेपाली नागरिक स्वदेश आगमन सहजिकरण समिति बनाएर काँकरभिट्टा नाकामा नेपाली सेना लगायतको संयुक्त टोलीले काम गर्ने भएको छ ।

अध्यगमन कार्यालय काँकरभिट्टाका प्रमुख जनक कोइरालाको संयोजकत्वमा चारआली स्थित नयाँ श्रीनाथ गणका क्यापटेन विजय काफ्ले, मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङ, नगरपालिकाका ल्याव टेक्नीसियन रुखसना खातुन, ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव निरीक्षक दुर्गा खनाल र शसस्त्र प्रहरी गुल्म काँकरभिट्टाका शसस्त्र प्रहरी निरीक्षक दिव्यराज कोइराला समितिका सदस्य छन् ।

आइतबारदेखि भारतबाट आउने नेपाली नागरिकहरुको नेपाली सेना, रेडक्रस, स्वास्थ्य कार्यालय झापा, नगरपालिकाका स्वास्थ्यकर्मीहरुद्वारा आरडीटी लगायतका स्वास्थ्य चेकजाँच गरिने संयोजक कोइरालाले बताए । नेपाली सनाको पहिलो चरणमा २५ जनाको टोलीले काम गर्ने उनले जानकारी दिए । सीमा नाकाबाट आएका नेपालीलाई काँकरभिट्टा माविको मैदानमा कोराना सम्बन्धी आरडीटी चेकजाँच गरिने मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले बताए ।

नयाँ श्रीनाथ गण चारआलीका गणपति कर्नेल अमरजङ थापाले भोलिदेखि भारतबाट काँकरभिट्टा आउने नेपाली नागरिकहरुको आरडीटी टेष्ट गरिने बताए । ‘आरडीटी पोजेटिभ भेटिए आइसोलेसनमा राख्ने व्यवस्था मिलाउछौँ’, कर्नेल थापाले भने–‘नेगेटिभ रिपोर्ट आए बाहिरकालाई सम्बन्धीत जिल्ला र झापाकालाई सम्बन्धीत पालिकामा पठाइने छ ।’

प्रतिकृया दिनुहोस्