News Portal

परीक्षण ढिलाइले ‘भुसको आगो’ झै सल्किँदै कोरोना

रातोपोस्ट संवाददाता
४२५ पटक

कञ्चनपुर, जेठ २६ । प्रयोगशालाको कमी तथा आवश्यक जनशक्ति अभावका कारण सुदूरपश्चि प्रदेशमा कोरोना परीक्षणमा ढिलाइ हुन थालेको छ । पिसीआर विधिबाट धनगढीमा प्रयोगशालाबाट कोरोना परीक्षण हुँदै आएको भए पनि स्वाब सङ्कलन धेरै भएकाले पाँच दिनका लागि नमूना सङ्कलन स्थगन गरिएको छ ।

भारतबाट भित्रिनेको संख्या धेरै रहेको र अहिले पनि भित्रिने क्रम चलिरहेका बेला स्वास्थ्य परीक्षण सुस्त हुँदा सुदूरपश्चिममा कोरोना संक्रमण ‘भुसको आगो’ झै भित्रभित्रै सल्किरहेको स्थानीय बताउँछन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले तीन दिनपछि स्वाब सङ्कलन पुनः शुरु गरिने जानकारी दिए ।

निर्देशक डा. अवस्थीले भने, ‘स्वाब स्टोर गर्ने क्षमता कम भएकाले केही समय नमूना सङ्कलन स्थगन गरेका हौँ ।’ उनले सुर्खेत र काठमाडौं प्रयोगशालामा स्वाब पठाएर परीक्षण गर्न पहल गरे पनि सबैतिर चाप रहकाले नसकिएको बताए ।

‘सबैतिर ल्याबहरुमा परीक्षणका लागि चाप छ’, उनले भने, ‘यहाँ हामी दैनिक २५० भन्दा बढी परीक्षण गर्न सक्दैनौं ।’ प्रदेश सरकारले सेती प्रादेशिक अस्पताल धनगढी, डोटी र बैतडीमा पिसीआर विधिबाट कोरोना परीक्षणका लागि प्रयोगशालाको स्थापनाको प्रक्रिया अघि बढे पनि सुस्त गतिमा छ ।

‘सेतीमा प्रयोगशाला स्थापना भए हामीसित जनशक्ति खटाउन सकिने अवस्था भए पनि पहाडका दुई प्रयोगशालाका लागि जनशक्ति एक जना पनि छैन’ अवस्थीले भने, ‘आगामी असार १५ गतेभित्र पिसीआर मेसिन यहाँ आइपुग्छ ।’ धनगढीमा केन्द्रबाट पठाएको प्रयोगशाला सञ्चालनमा आउनुअघि यहाँ सङ्कलन गरिएका स्वाब सुर्खेत र काठमाडौँ प्रयोगशालामा परीक्षणका लागि पठाउने गरिएको थियो । भारतका विभिन्न स्थानबाट स्वदेश फर्किने क्रम बढेसँगै कोरोनाको सङ्क्रमण फैलिने सम्भावना बढिरहेको छ ।

शनिबार साझँसम्म सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहका क्वारेन्टिनमा ६२ हजार ५२७ जना बसिरहेका छन् । एक सय सात कोरोना सङ्क्रमित रहेको सुदूरपश्चिम प्रदेशका आइसोलेसन वार्डहरु सङ्क्रमित बिरामीले भरिएका छन् ।

आइसोलेसन वार्ड बढी रहेका कैलाली र कञ्चनपुरमा पनि सङ्क्रमितको चाप बढेपछि स्थानीय प्रशासनले आइसोलेसन वार्ड थप्ने गृहकार्य गरिरहेका छन् । यहाँका एक हजार ६०० भन्दा बढी स्थानमा क्वारेन्टाइन सञ्चालनमा ल्याएको भएपनि व्यवस्थापन नहुँदा समस्या भइरहेको छ । कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले अस्पतालमा १८ जना सङ्क्रमितको उपचार भइरहेको बताए ।

‘यहाँ क्षमता हुँदासम्म बिरामी राखिने कुरा भएको छ’, उनले भने, ‘भरिए पनि यहाँको सेफर अस्पताल र सीएमए महिला छात्रावासलाई पनि आइसोलेसन वार्ड बनाउने तयारी छ ।’ त्यसैगरी अस्पतालमा निर्माण भइरहेको ५० शैंयाको अस्पताल निर्माण अन्तिम चरणमा पुगेको जोशीको भनाइ छ । सुदूरपश्चिममा कोरोना सङ्क्रमणबाट हालसम्म दुई जनाको मृत्यु भएको छ भने छ जनाको क्वारेन्टिनमा मृत्यु भएछ । जसमध्ये तीन जनाको कोरोना नेगेटिभ आएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म सात हजार ४९ पिसीआर विधि र ३२ हजार ७५६ आरडिटी विधिबाट कोरोना परीक्षण गरिएको छ । कोभिड–१९ कञ्चनपुरका सम्र्पक व्यक्ति सिद्धराज भट्टमा पिसीआर स्वाब सङ्कलन स्थगन भए पनि स्थानीय पालिकाले सम्बन्धित तहमा आरडिटी विधिबाट परीक्षण गरिरहेको बताए ।

‘हामीबाट आरडिटीका लागि किट लगेर पालिकासित भएको जनशक्तिले नै परीक्षण गरिरहेको छ’, भट्टले भने, ‘त्यसको तथ्याङ्क हामीकहाँ पनि पठाउने गरेका छन् ।’ धनगढीस्थित पशुपक्षी अन्वेशण प्रयोगशालामा पनि जनशक्ति कमी रहेको छ । ‘प्रयोगशालाको पूरै टिम दैनिक १२ देखि १३ घण्टा खटिरहेको छ ।’ प्रयोगशाला स्रोत भन्यो, ‘कर्मचारी अभावले पनि परीक्षणमा केही ढिलाइ हुन गइरहेको छ ।’

प्रतिकृया दिनुहोस्