News Portal

  • अर्घाखाँचीमा नगर उपप्रमुखसहित ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि

    रातोपोस्ट
    ६६ पटक

    अर्घाखाँची। अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुरकुमार विकसहित सोमबार एकैदिन ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    कोरोना सङ्क्रमण हुनेमा दुई जना महिला र २९ जना पुरुष रहेका छन् । उनीहरुमध्ये २८ जना भारतबाट आएका नगरपालिकाले जनाएको छ । भारतबाट गृह जिल्ला आएर पालिकाले बनाएको क्वरेण्टीन बसेका उनीहरुहरुको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताउनुभयो ।

    कोरोना देखिएका ३१ जनामध्ये अधिकांश गएको जेठ १० गते भूमिकास्थान नगरपालिका -९ का ३४ वर्षीय कृष्णबहादुर गैरेको सम्पर्कमा आएका व्यक्ति हुन् । गैरेको भारतबाट नेपाल फर्किने क्रममा गएको जेठ १८ गते बाटोमा ज्यान गएको थियो । उनको सम्पर्कमा आएका र उनीहरुसँगै आएकाहरुको स्वाब परीक्षणका लागि पठाइएको थियो ।

    योसँगै अर्घाखाँचीमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १ र सङ्क्रमितको सङ्ख्या ३५ पुगेको छ । सङ्क्रमितमध्ये सन्धिखर्क नगरपालिकाका २९, शीतगङ्गा नगरपालिकाका एक र पाणिनी गाउँपालिकाका एक जना रहेका छन् ।

    यसैबीच सङ्क्रमित उपप्रमुख विकले भन्नुभयो, ‘म भारतबाट आएकाहरुको सहयोगमा र क्वरेण्टीन व्यवस्थापनमा दिनरात लागिरहे । त्यसैले कोरोना सङ्क्रमण भएको हो । म अत्तालिएको छैन् । होम क्वरेण्टीनमै बस्छु र आवश्यक व्यवस्थापनमा फोन सम्पर्कबाटै सहयोग गर्नेछु ।’

    उहाँ नेकपा अर्घाखाँचीका जिल्ला सचिवसमेत रहनुभएको छ । अर्घाखाँचीमा जनप्रतिनिधिलाई कोरोना पुष्टि भएको यो पहिलो पटक हो । नगरपालिकाका मेयरको पनि स्वाब पठाइएको थियो । उहाँमा भने कोरोना सङ्क्रमण पुष्टि भएको छैन । उज्यालो खबर

    प्रतिकृया दिनुहोस्