News Portal

उद्योगी, व्यवसायीले गरे लकडाउन खुकुलो बनाउने सरकरी निर्णयको स्वागत

रातोपोस्ट संवाददाता
४२४ पटक

काठाडौं, जेठ २९। उद्योगी व्यवसायीहरूले सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरी व्यवसाय सञ्चालन गर्न दिने निर्णयको स्वागत गरेका छन्। कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि लामो समय लकडाउन हुँदा उद्योग व्यवसायमा ठूलो क्षति भएको र सरकारले १ असारदेखि सञ्चालन गर्न दिने निर्णय गरेपछि उद्योगी व्यवसायीहरूले स्वागत गरेका हुन्।

उद्योगी व्यवसायीहरूले आफूहरूले दुई सातायता लकडाउनको मोडालिटी परिवर्तन गरी व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गर्दै आएको अवस्थामा सरकारले चरणवद्ध रूपमा आर्थिक क्रियाकलापलाई सञ्चालन गर्ने निर्णय गर्नु सकारात्मक भएको बताएका छन्। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आर्थिक गतिविधिलाई चलायमान गर्न गरेको पछिल्लो निर्णय सकारात्मक भएको बताए।

“आइतबारदेखि लकडाउन खुकुलो गर्ने भन्ने थियो तर, हिजो क्याबिनेट बसेर हामीले सबै न्यूजहरूमा सुन्न पायौं कि अब केही बाहेक सबै व्यवसाय पनि चल्ने, जोर–बिजोर गरी गाडी पनि चल्ने दिन निर्णय भएछ”, उनले भने, “हामीले त ११ देखि साढे पाँच भनेका थियौं तर, सबै ९ बजेसम्मै गरिदिएकोले यसमा हामी सरकारलाई आर्थिक गतिविधिलाई चलायमान गर्नलाई यो अलि खुकुलो बनायो हामी प्रशंसा र स्वागत पनि गर्छौं।”

अध्यक्ष श्रेष्ठले उद्योग व्यवसाय सञ्चालन गर्न दिएपछि स्वास्थ्य सुरक्षाको सावधानी अपनाउने सम्बन्धमा सरकारले अनुगमन गरी सबैलाई सचेत गराउनुपर्ने बताए। नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोरले कोभिड–१९ संक्रमण्को रोथामका लागि रेड जोन, यल्लोजोन र ग्रीन जोन क्षेत्र निर्धारण गरी सबै उद्योग व्यवसायलाई सञ्चालन गर्न दिनुपर्ने बताए।उनले सरकारले पछिल्लोपटक गरेको निर्णय उद्योगी, व्यवसायीको हितमा रहेको बताए।

“हिजो बेलुका क्याबिनेटले निर्णय गरेर केही खुकुलो गरेको छ। अझ पनि के सुनिएको छ भने तीनवटा चरणमा गर्ने पहिलो, दोस्रो र तेस्रो। अब त्यसमा जोर–बिजोरको कुरा, पसलहरू खोल्ने कुरा आइसकेको छ। नेपाल उद्योग परिसंघले यसलाई धेरै सकारात्मक रूपले लिएको छ”, उनले भने। लकडाउन खुलेको एक साता भित्रमा सबै उद्योग व्यवसायीले सुरक्षाका सबै सावधानी अपनाइ पूर्णरूपमा व्यवसाय सञ्चालन गर्न सक्ने बताए।

उनले विश्व स्वास्थ्य संगठन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेको स्वास्थ्य प्रोटोकल अपनाएर सबै क्षेत्रलाई सञ्चालन गर्नुपर्ने बताए। उनले अर्थतन्त्रलाई जोगाउनका लागि यातायात, होटल तथा आन्तरिक उडानहरूलाई पनि चलाउनेतर्फ सरकारको ध्यान जानुपर्ने बताए।

प्रतिकृया दिनुहोस्