News Portal

थुनुवा कक्षभित्रै मृत फेला परेका शम्भुको अझै भएन पोष्टमार्टम, मुसहर समुदायले गरे प्रदर्शन

रातोपोस्ट संवाददाता
१३९१ पटक

जनकपुरधाम, जेठ ३१। धनुषास्थित इलाका प्रहरी कार्यालयको थुनुवा कक्षभित्रै गत मंगलबार झुण्डिएको अवस्थामा मृत फेला परेका शम्भु सदाको अझै पोष्टमार्टम भएको छैन । सबैला नगरपालिका १२ बरकुवाका सदाको शवलाई बुधबार नै पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइए पनि अझै पोष्टमार्टम हुन सकेको छैन ।

मृतक पक्षले आफ्नो चिकित्सकको उपस्थितिमा पोष्टमार्टम गर्नुपर्ने बताएपछि धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले सिरहामा कार्यरत डा. दिलिप सदालाई बोलाएका थिए । तर, प्रादेशिक अस्पतालका चिकित्सकले बाहिरका चिकित्सकसँगै पोष्टमार्टम गर्न नसकिने बताएपछि उनको पोष्टमार्टम रोकिएको हो ।

अब उनको पोष्टमार्टम बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरानमा गराइने भएको छ । प्रमुख जिल्ला अधिकारी निरौलाले भने, ‘मृतक पक्ष पनि यसमा सहमत भएको छ र शम्भुको शव शनिबार धरान लगिने छ ।’ राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्देश्वर सदाले पनि शम्भुको शव धरान लग्ने तयारी भइरहेको बताए ।

माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी

शम्भुले थुनुवा कक्षभित्रै आत्महत्या गरेको प्रहरीले बताउँदै आएको छ । तर मृतक परिवार, स्थानीय र मुसहर समुदाय यो कुरा मान्न तयार छैनन् । उनीहरुले शम्भुको हत्या गरिएको जिकीर गर्दै आएका छन् ।

त्यसैले मुसहर समुदायले दोषीलाई कार्वाहीको माग गर्दै सबैलामा प्रदर्शन गरेका छन् । सबैलासहित धनुषा र सिरहाको बिभिन्न ठाउँबाट आएका मुसहर समुदायका महिला, पुरुष, बालबालिका समेत प्रदर्शनमा सहभागी भएका छन् ।

उनीहरुले दोषीलाई कारवाही, परिवारका सदस्यहरुको भरणपोषण र एक जनालाई रोजगारी दिनुपर्ने लगायतका माग राखेका छन् । माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् । अनलाइनखबर

प्रतिकृया दिनुहोस्