News Portal

  • विदेशमा अलपत्र रहेका नेपाली फर्काइँदै : आज बंगलादेशबाट ल्याइने

    रातोपोस्ट
    ७८ पटक

    काठमाडौं, जेठ ३२। विदेशमा अलपत्र परेका नेपालीलाई आइतवारदेखि नेपाली एयरलाइन्सको चार्टर उडानमार्फत स्वदेश फर्काइँदैछ । विभिन्न मुलुकमा अलपत्र परेका नेपाली ल्याउन नेपाल एयरलाइन्स र निजी लगानीको हिमालय एयरलाइन्सका जहाज प्रयोग हुनेछन् ।

    नेपाल एयरलाइन्सले आइतवार बंगलादेशको ढाकाबाट अलपत्र नेपाली नागरिक ल्याउने कार्यतालिका छ । नेपाल एयरलाइन्सको वाइडबडी ए–३३० जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०ः३० बजे ढाका उड्ने छ भने उताबाट दिउँसो २ः३० बजे काठमाडौं अवतरण गर्नेछ । निगमका प्रवक्ता अर्चना खड्काले विदेशमा अलपत्र नेपालीलाई निगमका जहाजले आइतवारदेखि स्वदेश ल्याउन शुरु गर्ने जानकारी दिए ।

    नेपाली लिन विभिन्न मुलुकका गन्तव्य पुग्ने निगमका जहाज यताबाट प्रायः रित्तै जानेछन् । तथापि निगमका जहाज जाने गन्तव्यमा यात्रु जान चाहे लगिदिनेछ । निगमका प्रवक्ता खड्काले नेपालबाट फर्कन चाहने यात्रुलाई सम्बन्धित मुलुकको दूतावास वा नेपालको परराष्ट्र मन्त्रालयको लिखित कागजातका आधारमा लैजान सकिने व्यवस्था मिलाइएको बताए ।

    सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करीब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेसँगै निगमले जुन महिनाभर विभिन्न देशबाट गरिने चार्टर उडानको कार्यतालिका बनाइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एयरलाइन्सलाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो । त्यस्तै २४ ओटासम्म विदेशी एयरलाइन्सलाई उडान अनुमति दिइएको छ ।

    नेपाल एयरलाइन्सका दुई वाइडबडी र दुई न्यारोबडी गरी चार जहाजले उडान गर्नेछन् भने नेपालबाट अन्तरराष्ट्रिय उडान गर्ने निजी लगानीको हिमालय एयरलाइन्ससँग चार न्यारोबडी जहाज छन् । निगमको अपरेशनल विभागका अनुसार नेपाल एयरलाइन्सले जुन १४ तारिखमा बङ्गलादेशको ढाका, जुन १५ मा माल्दिभ्सको माले र मलेशियाको क्वालालम्पुरमा उडान गर्नेछ । त्यसैगरी जुन १६ मा दुबई र कतारको दोहा, जुन १७ मा अष्ट्रेलियाको सिङ्नी, थाइल्याण्डको बैंकक र बहराइनबाट नेपाली ल्याइनेछ ।

    जुन १८ मा साउदी अरेबियाको रियाद र दुबई, जुन १९ मा जापानको नारिता र कुवेत, जुन २० मा साइप्रस, क्वालालम्पुर र दोहा उडान हुनेछ । त्यसैगरी जुन २१ मा दक्षिण कोरियाको सोल र ओमानको मस्कट, जुन २२ मा सम्भावित मेल्बर्न, बैंकक, जुन २३ मा नारिता र माले, जुन २४ मा सम्भावित साउदी अरबको जेद्दाह, कुवेत र जुन २५ तारिखका दिन सम्भावित अमेरिकाको लसएन्जलस या डालस उडान गर्ने योजना रहेको निगमले उल्लेख गरेको छ ।

    हिमालय एयरलाइन्सले पनि बंगलादेश, श्रीलंका, मलेशिया, कतार, साउदी अबर, युएई, कुवेतलगायत मुलुकबाट चार्टर उडान गरी नेपाली स्वदेश ल्याउनेछ । रासस

    प्रतिकृया दिनुहोस्