News Portal

सातै प्रदेशको बजेट सार्वजनिक, कुन प्रदेशले कति बजेट ल्याए ?

रातोपोस्ट संवाददाता
६७६ पटक

काठमाडौं। सात वटै प्रदेशले चालु आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गरेका छन् । संघीय सरकारले चालु आवको बजेट सार्वजनिक गरेसँगै प्रदेश सरकारले पनि आफ्नो बजेट सार्वजनिक गरेका हुन् । सबै प्रदेशले यो वर्ष अनावश्यक खर्च कटौती गर्दै कोरोना भाइरसको संक्रमणविरुद्ध लड्नका लागि बजेट विनियोजन गरेका छन् ।

कुन प्रदेशले कतिको बजेट ल्याए ?

प्रदेश नम्बर १ :

प्रदेश १ को सरकारले आर्थिक वर्ष ०७७/७८ का लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार अर्थमन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश सभामा आगामी आर्थिक वर्षका लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट प्रस्ताव गरेका हुन् ।

कुल विनियोजित बजेटमध्ये १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार चालूतर्फ र पुँजीगततर्फ २१ अर्ब ९२ करोड ५० लाख चार हजार प्रस्ताव गरिएको छ ।

प्रदेश नम्बर २ :

प्रदेश नम्बर २ ले चालु आर्थिक वर्ष २०७७/०७८ का लागि ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट सार्वजनिक गरेको छ । प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले बजेट सार्वजनिक गर्दै कोरोना भाइरसको असर आर्थिक क्षेत्रमा पनि परेको बताएका छन् । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटभन्दा ५ अर्ब कमको बजेट ल्याएको हो ।

बागमती प्रदेश :

बागमती प्रदेशले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले चालुतर्फ २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार अर्थात् ५१.१२ प्रतिशत विनियोजन गरेका छन् ।

गण्डकी प्रदेश :

त्यस्तै गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बजेट सार्वजनिक गर्दै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि २ अर्ब ९१ करोड ७६ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिए । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको भन्दा २ अर्ब ७० करोड ७३ लाख ६८ हजार बढीको बजेट ल्याएको हो ।

प्रदेश नम्बर ५ :

त्यस्तै प्रदेश ५ सरकारले आर्थिक वर्ष ०७७/०७८ का लागि ३६ अर्ब ३५ करोड २५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले अघिल्लो वर्षको तुलनामा ६ करोड रुपैयाँ कम ल्याएका हुन् ।

कर्णाली प्रदेश :

कर्णाली प्रदेश सरकारले ३३ अर्ब ७४ करोडको बजेट ल्याएको छ । सोमबार आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले पुँजीगत खर्च ५७ प्रतिशत, चालु खर्च ३४ र वित्तीय हस्तान्तरणतर्फ ९ प्रतिशत विजियोजन गरिएको जानकारी दिए ।

त्यस्तै बजेटले सबै किसिमका भत्ता खारेज गरेको छ । त्यस्तै बजेट सार्वजनिक गर्दे मन्त्री ज्वालाले नयाँ संरचना स्थापना नगर्ने, एम्बुलेन्स वाहेकका सवारी साधन खरिद नगर्ने लगायत मन्त्री, राजनीतिक पदाधिकारी तथा कर्मचारीको अतिथि सत्कार, सञ्चार, बैठक भत्ता, खाजा खर्च र जोखिम भत्ता खारेज गरेको जानकारी दिए । यो बजेट गत वर्षभन्दा करिव ५० करोड कम हो । बजेटमा आगामी आर्थिक वर्ष करिव ६ प्रतिशत आर्थिक बृद्धिद्धर हासिल गर्ने लक्ष्य छ ।

सुदुरपश्चिम सरकार :

त्यस्तै सुदूरपश्चिम प्रदेशले आगामी आर्थिक वर्ष ०७७/०७८ का लागि ३३ अर्ब २८ करोड ४८ लाखको बजेट सार्वजनिक गरेको छ ।
प्रदेशसभामा अर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले १४ अर्ब १८ करोड ७८ लाख चालु र १६ अर्ब ७२ करोड ८४ लाख पुँजीगत बजेट रहेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस्