News Portal

अब चालक अनुमतिपत्र घरमै

रातोपोस्ट
४९८ पटक

काठमाडौं, असार ३ : सरकारले घरमै चालक अनुमतिपत्र(स्मार्ट लाइसेन्स) उपलब्ध गराउने भएको छ। यो व्यवस्थासँगै अनुमतिपत्र प्राप्त गर्न बारम्बार धाइरहनुपर्ने बाध्यता अन्त्य हुनेछ। यातायात व्यवस्था कार्यालय काठमाडौंले अनुमतिपत्र होम डेलिभरी गर्ने सेवा उपलब्ध गराउन लागेको हो।

यातायात व्यवस्था कार्यालयका शाखा अधिकृत उपेन्द्र शाहका अनुसार कार्यालयले यो तयारी गरे पनि कार्यान्वयनमा ल्याउन केही समय लाग्नेछ। उनले भने, ‘हामीले आवश्यक तयारी गरी वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई प्रस्ताव गरिसकेका छौं। स्वीकृत भएमा तत्कालै यो सुविधा उपलब्ध गराउछौं।’

लकडाउन र कोरोना भाइरसको संक्रमणको समयमा होम डेलिभरी सेवा उपयुक्त हुने उनको सुझाव छ। सेवाग्राहीको पनि समयमै लाइसेन्स पाइएन भन्ने व्यापक गुनासो छ। सरकारी कार्यालयले पनि सेवाग्राहीलाई चुस्त र स्तरीय सेवा दिन सक्छन् भन्ने उद्देश्यले होमडेलिभरीको सुरुवात गर्न खोजिएको उनको भनाइ छ।

‘सरकारी कार्यालयमध्ये धेरै भीड हुने ठाँउ हो। अन्य सेवाभन्दा पनि लाइसेन्सको विवरण बुझन आउने सेवाग्राही अत्यधिक छन्’, शाहले भने, ‘होमडेलिभरी सेवा सुरु गर्न सकिए लाइसेन्सका लागि धाउने सेवाग्राही कम हुन्छन्।’

यातायात कार्यालयका कर्मचारीले अनुमतिपत्रमा प्रिन्ट भएको मोबाइल नम्बरमा सम्पर्क गरी सेवाग्राहीलाई होम डेलिभरीका लागि प्रस्ताव राख्नेछन्। सेवाग्राहीको स्वीकृतिमा होम डेलिभरी गरिनेछ।

यातायात कार्यालयले तोकेको कुरियर सेवा प्रदायकले सेवाग्राहीसँग निश्चित रकम लिएर होम डिलेभरी गर्ने तयारी छ। होम डेलिभरी सेवा लिन चाहने काठमाडौं उपत्यकाभित्र ५० रुपैयाँ र मोसफलमा १०० रुपैयाँसम्म शुल्क व्यर्होनुपर्ने यातायात कार्यालयको तयारी छ।

उनका अनुसार २०७६ पुससम्म छापिएका स्मार्ट लाइसेन्स यातायात कार्यालयमा आइसकेको छ। उक्त कार्यालयमा करिब डेढ लाखको संख्यामा स्मार्ट लाइसेन्स सञ्चय गरी राखिएको छ।अन्नपूर्ण पोस्ट

प्रतिकृया दिनुहोस्