News Portal

‘मेलम्चीको पानी परीक्षणको काम असारमै’

रातोपोस्ट संवाददाता
९६९ पटक

काठमाडौं, असार ३ । खानेपानीमन्त्री विना मगरले मेलम्चीको पानी परीक्षणको काम असारमै हुने बताएकी छन् । राष्ट्रियसभाको आज बसेको बैठकमा सांसदहरुको प्रश्नको उत्तर दिँदै उनले असारमा परीक्षण सकिएपछि पानी काठमाडौँ झारिने बताइन् ।

उनले पानीको वितरणका लागि आवश्यक व्यवस्थापनको काम आयोजना कार्यान्वयन निर्देशनालयले गरिरहेको जानकारी गराइन् । पानीको वितरण काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले नै गर्ने उनको भनाइ थियो । उनले भनिन्यो, “पानी घरघरमा पुग्ने कुरामा शंका गर्नुपर्ने अवस्था छैन ।”

सो आयोजना समयमा सम्पन्न नहुँदा काठमाडौँवासी मात्रै नभएर सबै नेपाली निराश बनाएको उनको भनाइ थियो । आयोजना सञ्चालनका क्रममा थुप्रै प्रतिबद्धता जाहेर भए पनि विगतमा अन्योल र निराशा देखिएको उनले बताइन् । आयोजना निर्माण भइरहँदा कहिले भूकम्प त कहिले ठेक्का तोड्नुपर्ने अवस्था र निर्माण मजदूरको आन्दोलनलगायत समस्या आएको मन्त्री मगरले बताइन् ।

अहिले विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को प्रकोपबीच पनि पहिलो चरणको आधारभूत काम सम्पन्‍न हुने क्रममा रहेको उनको भनाइ छ । उनले भनिन्, “सबै चुनौती भए पनि आगामी आवको सुरुमा पानी वितरण गरिनेछ, त्यो दिन सबै नेपालीको गौरवको दिन हुनेछ ।”

मन्त्रालयलाई भर्खर मात्रै क्वारेन्टिनमा खानेपानी र शौचालय, सरसफाइ निर्माणको जिम्मेवारी आएकाले त्यो कार्यान्वयनमा लागेको मन्त्री मगरले बताइन् । अहिले आवश्यकतानुसार छिटोभन्दा छिटो कार्यान्वयन गर्न मन्त्रालय अघि बढ्ने उनले बताइन् ।

खानेपानी तथा सरसफाइ विधेयक सदनमा छलफलका क्रममा रहेको र यसै अधिवेशनबाट पारित हुने उनले विश्वास व्यक्त गरिन् । उनले सरकारले तय गरेको १५औँ योजनामा सबैमा खानेपानी पुग्ने लक्ष्य लिइएकामा आगामी आवको अन्त्यसम्म ९४ प्रतिशत आधारभूत खानेपानी पुर्‍याउने र ३२ प्रतिशतमा मध्यम तथा उच्चस्तरको स्तरको खानेपानी पुर्‍याउने गरी बजेट विनियोजन गरी सोहीअनुसार कार्यक्रम कार्यान्वयन हुने बताइन् ।

मन्त्री मगरले सबै घरधुरीमा शौचालय पुगेर नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भइसकेकाले अहिले यसको निरन्तरता स्थानीय तहले दिइरहेको बताइन् । तीनै तहको सरकारको समन्वयमा पूर्ण सरसफाइउन्मुख कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम बनाइएको उनले बताइन् ।

प्रदेश र स्थानीय तहसँग योजना तथा कार्यक्रमसँग दाहोरोपना नहुने गरी मन्त्रिपरिषद्ले भौगोलिक विकटतालाई हेरेर तराईमा १५ हजार, पहाडमा पाँच र हिमाली क्षेत्रमा एक हजार जनसङ्ख्यासम्म लक्षित कार्यक्रम मन्त्रालयबाट सञ्चालन हुने निर्णय गरेको उनले बताइन् । ‘‘त्यसभन्दा कम जनसङ्ख्या लक्षित कार्यक्रम प्रदेश र स्थानीय तहबाट कार्यान्वयन हुनेछ,’’ उनले भनिन् ।

यस्तै एकीकृत खानेपानी तथा सरसफाइ आयोजना विभिन्‍न सहरमा सम्भाव्यता अध्ययन गरी आगामी आवमा पाँच आयोजनामा विस्तृत आयोजना अध्ययन गरिने मन्त्री मगरले बताइन् । तराई मधेसमा जनसङ्ख्याअनुरुप भूमिगत पानी घटिरहेकाले ठूला नदीमा आधारित थोक वितरण प्रणाली सञ्चालन गरिने मन्त्री मगरले जानकारी दिइन् । -रासस

फाइल तस्बिर ।

प्रतिकृया दिनुहोस्