News Portal

खरिपाटी औषधि प्रकरणबारे बोल्यो नेपाली सेना

रातोपोस्ट संवाददाता
३३६ पटक

काठमाडौं, असार ४। खरिपाटी औषधि प्रकरणबारे नेपाली सेनाले सञ्चारमाध्यममा आएजस्तो अनियमितता नभएको प्रष्ट पारेको छ ।

नेपाली सेनाका प्रवक्ता एवं सहायकरथी विज्ञानदेव पाण्डेले नेपालमा कोरोना भाइरसको संक्रमणको जोखिम रहेको अवस्थामा नेपाली सेनाले तिव्रताका साथ सबै तयारी पूरा गरेको र औषधिजन्य सामाग्रीहरु पनि खरिद गरेको प्रष्ट पारे । प्रवक्ता पाण्डेले सेनाले खरिद गरेका औषधिहरु अझै पनि खरिपाटी क्वारेन्टाइनमा प्रयोग भइरहेको जानकारी दिए ।

‘कान्तिपुरले जसरी हिसाब निकालेको छ । अरु कुराहरु पनि के–के इन्भल्व भएको थियो त्यो पनि बुझेर गरिदिए हुन्थ्यो भन्ने हो । जस्तो १७५ जना मान्छे आए । तिनिहरुले एक दिन पनि औषधि खाएको छैन् । तर, औषधिको यत्रो हिसाब कसरी निस्कियो भन्ने कुरा आयो ’, प्रवक्ता पाण्डेले भने, ‘कोरोना संक्रमणको पहिलो चरण भएकाले तयारी त सबै गर्नुपर्ने थियो । हामीले तयारीे गर्यौं पनि । हामी डिटेलमा कहाँ कति खर्च भयो भनेर हिसाब निकाल्ने तयारीमा छौं ।’

उनले औषधि मात्रै ३ लाख ८० हजार रुपैयाँको खरिद गरेको जानकारी दिए । प्रवक्ता पाण्डेले डिपोमा १६ लाख रुपैयाँको औषधिजन्य सामाग्रीहरु स्टक रहेको जानकारी दिए । प्रवक्ता पाण्डेका अनुसार ३ लाख ८० हजारको औषधि खरिद गरिएको थियो । त्यसमा केही औषधिहरु खपत भएपनि अन्य औषधिहरु खरिपाटीमा प्रयोग भइरहेका छन् ।

त्यस्तै उनले डिपोमा १६ लाखभन्दा बढीको औषधिजन्य सामानहरु स्टक रहेको जानकारी दिए । ७ लाख रुपैयाँ रकम फिर्ता हुनेछ । त्यस्तै ७३ लाख ९८ हजारबाट २३ लाख घटाएर हुने ५० लाख ९८ हजार रुपैयाँको औषधिजन्य सामाग्री, स्वास्थ्यकर्मीहरुले लगाउने पिपिई, स्यानिटाइजर, ट्रली लगायतका स्वास्थ्य सामाग्रीहरु खरिद गरेको प्रवक्ता पाण्डेले बताए ।

‘डिटेलमा आज सबै खर्च निकाल्छौं । अहिले यहाँ सबै भन्न सम्भव भएन । प्रत्येक दिनमा औषधि लिन जाने, दिन जाने डाक्टरहरुले लगाएको प्रोटेक्टिभ पर्सनल इक्विपमेन्ट त्यसलाई फाल्ने, किनेको त्यो वेस्टिजको व्यागहरु, ट्रली त्यसपछि खानाको छुट्टै छ । त्यस्तै स्यानिटाइजरको कुराहरु भयो । त्यसपछि उहाँहरुले प्रयोग गर्ने सामानहरु सबै छ । त्यो हिसाब सार्वजनिक गरेपछि मान्छेलाई क्लियर भइहाल्छ’, उनले भने ।

बुधबार एक सञ्चारमाध्यममा ‘क्वारेन्टाइन व्यवस्थापनमा अनियमितता : औषधि नै नखाई ७४ लाखको बिल’ शीर्षकमा समाचार प्रकाशित भएपछि सेनाले सबै हिसाब सार्वजनिक गर्न लागेको हो ।

गत फागुन ४ गते सरकराले चीनको वुहानबाट १७५ जना नेपालीलाई उद्धार गरेको थियो । उद्धार गरेर ल्याइएका नेपालीलाई सेनाले व्यवस्थापन गरेको थियो । उनीहरुलाई खरिपाटी क्वरेन्टाइनमा राखिएको थियो । जसमध्ये खाद्यान्नमा ५५ लाख १४ सय ३३ रुपैयाँ र औषधिजन्य समाग्रीमा ७३ लाख ९८ हजार रुपैयाँ खर्च भएको देखाइएको छ ।

प्रतिकृया दिनुहोस्