News Portal

विदेशी बुहारीलाई सात बर्ष पछि अंगीकृत नागरिकता दिने नेकपाको निर्णय

रातोपोस्ट संवाददाता
४७२ पटक

काठमाडौं, असार ६ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बालुवाटारमा बसेको सचिवालय बैठकले विदेशी बुहारीलाई ७ वर्षपछि अंगिकृत नागरिकता दिने निर्णय गरेको छ । नागरिकता पाउनका लागि कुनै पनि विवाहित महिलाले पहिलेको आफ्नो देशको नागरिकता त्याग्ने प्रक्रिया पनि सुरु गरेको हुनु पर्ने जनाइएको छ ।

बैठकमा सहभागी एक सचिवालय सदस्यका अनुसार अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवैले यो पक्षमा कुराकानी गरेका थिए । उनीहरुको चाहनामा नै विदेशी बुहारीलाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने विषयमा नेकपा सचिवालय बैठकमा निर्णय भएको हो । यसबारे अब संसदमा हुने बहसमा पनि सबै सांसदहरुलाई नेकपाले ह्विप जारी गर्ने बताइएको छ ।

अंगीकृत नागरिकताका सम्बन्धमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले साबिककै व्यवस्था गर्नुपर्ने अडान राखेको छ । बिहीबार प्रधानमन्त्रीले बोलाएको छलफलमा पनि कांग्रेस सभापति शेरबहादुर देउवाले सोही अडान दोहोर्याएका थिए ।

गत मंगलबार बसेको संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा समिति सभापति शशि श्रेष्ठले विदेशबाट विवाह गरी आएका बुहारीको हकमा सात वर्षपछि मात्रै नागरिकता दिने प्रस्ताव पेस गरेकी थिइन् । गत भदौ २८ गतेपछि पहिलोपटक बसेको सो बैठकमा दलहरुबीच सहमति नजुटेपछि मंगलबारको बैठक स्थगित भएको थियो ।

शुक्रबारको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा नागरिकता दिने वर्तमान प्रावधान परिमार्जन गर्ने बेला आएको बताएका थिए । छलफलमा राज्यव्यवस्था समितिका सदस्यहरूले ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने प्रस्ताव गरेका थिए ।

प्रतिकृया दिनुहोस्