News Portal

अष्ट्रेलियाबाट आज २५९ नेपाली काठमाडौं फर्किंदै

रातोपोस्ट संवाददाता
४६३ पटक

काठमाडौ। अष्ट्रेलियाबाट आज पहिलो ‘उद्धार’ उडान हुँदै छ । नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाजमार्फत् २५९ जना नेपालीहरु अष्ट्रेलियाबाट काठमाडौं फर्किन लागेका हुन् ।

नेपाल एयरलाइन्सको जहाज सिड्नीबाट स्थानीय समयअनुसार १ बजे काठमाडौंतर्फ उड्ने छ । सो जहाजमा चार महिनादेखि लकडाउन परेका नेपालीहरु छन् । उनीहरु आफ्ना छोराछोरीलाई भेट्न अष्ट्रेलिया आएका अभिभावकहरु हुन् ।फ्लाइटमा न्यूजिल्याण्डमा रहेका ११ जना नेपालीहरु पनि छन् । उनीहरु आजै बिहान न्यूजिल्याण्डबाट अष्ट्रेलिया आइपुगेका हुन् ।

नेपाल फर्किन १३ सय जनाले फाराम भरेका थिए । तर पहिलो चरणमा २५९ जनालाई काठमाडौं पठाउन लागिएको दूतावासका अधिकारीहरुले बताएका छन् । हरेक यात्रुबाट २ हजार ३ सय ५० अष्ट्रेलियन डलर भाडा लिइएको छ ।

हवाई यात्रुहरु सबैको सबैको पीसीआर परीक्षण गरिएको छ । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ । त्यसैले उनीहरुलाई नेपाल पुगेपछि होल्डिङ सेन्टरमा राखेर होम क्वारेन्टिनमा पठाइने दूतावास स्रोतले बतायो ।

नेपाल एयरलाइन्सको सो जहाजमा क्याप्टेन समझ कुमार श्रेष्ठ, क्याप्टेन श्रवण रिजाल, क्याप्टेन मनोहर कोल्हात्कर लगायत छन् । फ्लाइट अफिसरको रुपमा भोगेन्द्र कठायत, सन्जय पौडेल र प्रशान्त श्रेष्ठसमेत छन् ।

उनीहरु २९ जना अष्ट्रेलियन नागरिक तथा अष्ट्रेलियन स्थायी बासिन्दाहरुलाई बोकेर काठमाडौंबाट अष्ट्रेलिया आएका थिए । काठमाडौंस्थित अष्ट्रेलियन दूतावासको समन्वयमा ५ जना
बच्चासहित २९ जनालाई बोकेर नेपाल एयरलाइन्सको जहाज अष्ट्रेलिया गएको र सोही जहाजमा अष्ट्रेलियामा रहेका नेपालीहरु फर्किन लागेको नेपाल एयरलाइन्सका अपरेसन विभाग प्रमुख दीपु जुहार्चनले जानकारी दिए ।

अष्ट्रेलियाबाट दोस्रो उद्धार उडान २७ जुनमा मेलबर्नबाट हुने छ ।अनलाइनखबरबाट

प्रतिकृया दिनुहोस्