
डोटी, असार ९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्लामा कार्यरत प्रहरी निरीक्षक नृपबहादुर बोहरा र बडिकेदार गाउँपालिकामा रहेको केदार सामुदायिक वनका अध्यक्ष चक्रबहादुर साउद विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे छ ।
उनीहरुबाट ६१ हजार २० रुपैँया बिगो दावी माग गर्दै मुद्दा दायर गरिएको हो । गएको एक वर्ष पहिले इलाका प्रहरी कार्यालय बिपीनगरमा कार्यरत रहेको बेलामा प्रहरी निरीक्षक बोहरा र सामुदायिक वनका अध्यक्ष साउदले अवैध काठ तस्करी गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो ।
अबैध काठ सहित भ्रष्टाचार गरेको दावी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम कार्यालयले दुबैजना विरुद्ध भ्रष्टाचारको मुद्दा विशेष अदालतमा दायर गरेको हो ।
अध्यक्ष चक्रबहादुर साउद र प्रहरी निरीक्षक बोहरालाई भ्रष्टाचार निवारण ऐन अनुसार कारवाही गर्न माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जनाएको छ ।