News Portal

अखिल क्रान्तिकारीले दियो चेतावनी, लकडाउनकाे समयमा शुल्क लिने विद्यालयमाथि कारबाही गर्ने

रातोपोस्ट संवाददाता
८०७ पटक

झापा, असार१० । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) झापाका संयोजक कुमारले प्रेस विज्ञप्ति जारी गर्दै कोरोना सङ्क्रमण र लकडाउनको समयमा विभिन्न बहानामा विद्यार्थीसँग शुल्क नलिन आग्रह गर्दै शुल्क लिएको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

जिल्ला संयोजक कुमारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘शैक्षिक क्षेत्रमा देखिएको भ्रष्टाचार, कमिसन र दलालीकरणका विरुद्ध र शिक्षामा आमजनताको पहुँचमा समान अधिकारका निम्ति हाम्रो सङ्गठन स्थापनाकालदेखि नै सङ्घर्षरत रहेको सबैमा अवगत नै छ ।

नेपालको संविधानमा माध्यमिक शिक्षालाई निःशुल्क र अनिवार्य राख्ने प्रावधान गरिए पनि यसको ठीक विपरीत निजी तथा सरकारी विद्यालयहरूले विगतदेखि नै शिक्षामा शुल्क र अनिवार्यजस्तो गरी मनोमानी ढङ्गबाट शैक्षिक व्यापार सञ्चालन गरिरहेका छन् ।’

विज्ञप्तिमा भनिएको छ, ‘अहिले कोरोना (कोभिड १९) ले विश्व–समुदायमा नै आक्रान्त पारेको बेलामा नेपाल पनि यसको प्रभाव परेको छ र करिब ३ महिनादेखि बन्दाबन्दीको अवस्थामा गुज्रिरहेको र जनताको आर्थिक स्थिति कमजोर बन्दै गएको छ ।

यस्तो सङ्क्रमणकालीन परिस्थितिमा झापा जिल्लाका निजी तथा सरकारी विद्यालयहरूले अनलाइन कक्षाका नाममा शुल्क लिने, विद्यार्थी भर्ना शुल्क, मासिक शुल्कलगायत विभिन्न नाममा विद्यार्थीहरूबाट शुल्क लिने गरेको गुनासो विद्यार्थी र अभिभावकहरूबाट आएकाले कुनै पनि बहानामा शुल्क नलिन हाम्रो सङ्गठन निजी तथा सरकारी विद्यालयहरूमा विशेष आग्रह गर्दछ ।

सम्बन्धित पक्षले हाम्रो सङ्गठनको आग्रहलाई बेवास्ता गरेमा कडा प्रतिरोध गरिने यसै विज्ञप्तिमार्फत सूचित गरिन्छ ।’ विज्ञप्तिको पूर्णपाठ…

प्रतिकृया दिनुहोस्