News Portal

मेची नाकामा रोकिएका मालवाहक गाडी छुटे

रातोपोस्ट संवाददाता
६२४ पटक

झापा । कोरोना कहरकाले नेपाल भारतमा भएको बन्दाबन्दी कारण देखाएर करिव तिन महिनादेखि रोकिएको मालबहाक गाडीहरु ७८ दिनपछि भारत प्रवेश खुल्ला गरिएको छ ।

बुधवार नेपालको मेची नाका हुँदै १४ ओटा मालवाहक ट्रकले पानीटंकी नाकाबाट निर्वाधरूपमा पश्चिमबंगाल प्रवेश पाएका हुन् । यसअघि कोरोना नियन्त्रणको कारण देखाउँदै पश्चिमबंगाल प्रहरीले मेची पुलमा नै मालवाहक सवारी रोकेको थियो ।

बुधवार छुटेका १३ मालवाहक ट्रकले कुचो लिएर गएका छन् भने एउटाले अदुवा लगेको छ । मेची भन्सारका सूचना अधिकृत भरतराज अधिकारीका अनुसार बुधवारदेखि मेची नाकाबाट हुने आयातनिर्यात विना अवरोध सञ्चालन भएको छ ।

मेची नाका पूर्णरूपमा सञ्चालनमा आए पनि सिलिगुडीबाट आउने इन्धन आउन नसकेको मेची भन्सारले जानकारी दिएको छ । त्यसैगरी बंगलादेशबाट आउने औषधि र जुसहरूको आयात पनि ठप्प रहेको अधिकारीले जानकारी दिए ।

उनका अनुसार मेची नाकाबाट ३० किलोमीटर पूर्वमा रहेको भारतीय आयलको रिफाइनरी सेन्टरबाट नेपाली ट्यांकरबाट ल्याउने गरेको इन्धन भने भित्रिन सकेको छैन ।

मेची भन्सारको राजस्वको प्रमुख स्रोत भनेको इन्धन आयात नै हो । वैशाख २७ गते पानीटंकी नाकाबाट नेपाल आयात हुने सम्पूर्ण सामग्री विनाअवरोध आए पनि इन्धन भने अहिलेसम्म आयात हुन सकेको छैन ।

उनका अनुसार भारतीय भन्सारले तेलका ट्यांकरलाई पारि जाने अनुमति दिएको छैन । त्यस्तै नेपालका १ सयओटा मालवाहकलाई भारतले बंगलादेशको पूmलबारी नाकासम्म जाने अनुमति दिएको छैन । नेपाली ट्रकहरूले नै बंगलादेशको फूलबारी नाकाबाट मालसामान ढुवानी गरिरहेका थिए ।

कोरोना महामारीको कारण देखाउँदै पश्चिमबंगाल सरकारले चैत २६ गतेबाट पानीटंकी नाका बन्द गरेपछि मेची नाकाबाट हुने आयातनिर्यात ठप्प भएको थियो ।

त्यसको १ महीनापछि अर्थात् वैशाख २७ गतेबाट सो नाकाबाट नेपालतर्फ हुने आयात खुले पनि नेपालतर्फबाट हुने निर्यातमा भने रोक लगाइएको थियो । नयाँदिल्लीस्थित नेपाली दूतावासले पश्चिमबंगालका चिफ सेक्रेटरी राजीव सिन्हालाई टेलिफोनमार्फत पानीटंकी नाकाबन्द भएका कारण नेपाली सामानको निकासीमा समस्या रहेको जानकारी गराएपछि उनले तत्कालै नाका खोल्न आदेश दिएका थिए ।

यसअघि आइतवार अम्रिसोको कुचो बोकेका ६ ओटा ट्रकले भारत प्रवेश पाएपछि पानीटंकी नाका आंशिक खुलेको थियो । पश्चिमबंगाल बाहेकका बंगलादेश, भुटान र विहारलगायत अन्य स्थान जाने ट्रकलाई ४ दिनअघि प्रवेश दिए पनि सिलिगुडी र कोलकाता जाने मालवाहक ट्रकलाई भने पुलमा नै रोकेको थियो । ४ दिनअघि पानीटंकी नाकातर्पm गएका २४ ट्रकलाई मेची पुलमै पश्चिमबंगाल प्रहरीले रोकेको थियो ।

कोरोनाकै कारण देखाएर पश्चिमबंगाल सरकारले फूलबारी नाकाबाट बंगलादेश जाने मालसामान निर्बाध जान दिए पनि आउने मालसामानमा भने रोक लगाएको छ । ‘आशा गरौं केही दिनमा फूलबारी नाका हुँदै बंगलादेशको कार्गो पनि नेपाल आउनेछ,’ सूचना अधिकृत अधिकारीले बताए । श्रोत : आर्थिक अभियान

प्रतिकृया दिनुहोस्