News Portal

आमाको नामबाट पनि अब नागरिकता बन्ने

रातोपोस्ट संवाददाता
५६२ पटक

काठमाडौं, असार ११ । नेपालमा आमाको नामबाट नागरिकता पाउनुपर्ने बहस विगतदेखि उठिरहेका बेला संसदीय समितिबाट पास भएको बिधेयकले यसबारे ढोका खोलेको छ ।

हालै प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकबाट पास भएको नेपाल नागरिकता ऐन २०६३ को संसोधन विधेयकमा आमाको नामबाट नागरिकता प्राप्ति सम्बन्धि विशेष व्यवस्था गरिएको छ । यो विधेयक प्रतिनिधिसभामा बुझाईको छ र संसदमा छलफलपछि पारित हुँदैछ ।

नेपाल नागरिकता पहिलो संशोधन ऐन २०७७ को रुपमा आउन लागेको विधेयकमा मूल ऐनको दफा ८ संशोधन गर्दै सो को उपदफा १ को क (२) मा नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा निजको बाबुको पहिचान हुन नसकेको व्यहोराको निजको आमाले गरेको स्वघोषणाको आधारमा नागरिकता दिने व्यवस्था गरिएको छ । यसबाट बावुको पहिचान नभएकाले आमाको नामबाट नागरिकता पाउन सक्नेछन् ।

निवेदन दिँदाका बखत त्यस्तो व्यक्तिको आमाको मृत्यु भइसकेको वा होस ठेगानमा नरहेको अवस्थामा नागरिकता लिने व्यक्तिले गरेको स्वघोषणाका आधारमा नागरिकता दिने व्यवस्था गरिएको छ ।

यस्तै बाबु आमाको ठेगान नभएको नेपाल भित्र फेला परेको व्यक्तिको हकमा बालमन्दिर, अनाथालय जस्ता नेपाल सरकारद्वारा मान्यता प्राप्त संस्थामा हुर्केको भए त्यस्तो संस्थाको सिफारिस र सोको आधारमा सम्बन्धित स्थानीय तहले गरेको सिफारिस, कानूनी संरक्षकद्वारा हुर्काइएको भए त्यस्तो संरक्षकले गरेको सनाखत सहित निजको नागरिकताको प्रमाणपत्र र सम्बन्धित स्थानीय तहको सिफारिस, अन्य तरिकाले हुर्केको भए सम्बन्धित स्थानीय तहको सिफारिसका आधारमा नागरिकता दिने प्रावधान राखिएको छ ।

प्रतिकृया दिनुहोस्