News Portal

झापामा रुकुम हत्याकाण्डको विरोधमा सिट्ठी जुलुस

रातोपोस्ट संवाददाता
७४० पटक

झापा । रुकुमको चौरजहारीमा भएको सामुहिक हत्याकाण्डको विरोधमा धुलावारीमा सिट्ठी जुलुस भएको छ ।
दलित उत्थान समन्वय समिति मेचीनगरको समन्वयमा भएको सिट्ठी जुलुस धुलावारी चोक हुँदै बजार परिक्रमा गरी विरोध सभामा परिणत भएको थियो ।

कार्यक्रममा लेखक अध्यापक उज्जवल प्रसाईंले अहिले नेपालमा दलित आन्दोलन आवश्यक रहेको र त्यस आन्दोलनको पक्षमा आफू उभिने प्रतिवद्धता जनाए । नेपालमा दलित र गैर दलित विचको विभेदकारी सोच अझै पनि ब्याप्त रहेको बताउँदै त्यसकिसिमका सोचको अन्त्य नभई समुन्नत समाजको परिकल्पना समेत गर्न नसकिने बताए । रुकुम हत्याकाण्डबाट पाठ सिक्दै न्याय पूर्ण समाजको निर्माण र कानुनी राज्यको महसुश गराउन रुकुमका दलित युवाहरुले ज्यानको बलिदान दिएरै भएपनि मौका दिएको प्रसाईंको भनाई रहेको थियो ।

कार्यक्रमका अर्का वक्ता मेचीनगर कार्यपालिका सदस्य एवं नेपाल राष्ट्रिय उत्पीडित बिद्यार्थी समाजका संयोजक टिकाराम मगरातीले पूर्वी किनाराबाट सुरु भएको आन्दोलन अधिकार प्राप्तीका लागि भएको भन्दै पिडितलाई न्याय दिलाएर मात्र अन्त्य हुने उद्घोष गरे । उनले हतियार बनाउनेले चलाउन पनि सक्छ, हतियार उठाउने स्थिति नबनाउन आग्रह गरे ।

कार्यक्रमका अर्का वक्ता नारायण कणरियाले मृत्यु शैयामा रगतको अभावमा छटपटाईरहेका बेला बाहुन र दलितको रगतको विभेद नदेखिने तर मन्दिर र सामाजिक गतिविधिमा दलित र गैर दलितको खोजी हुनुले नेपाली समाजको चरित्र नाङ्गिएको बताए ।
कार्यक्रममा मुक्ति समाज झापाकी सचिव हर्कमाया विक, मेचीनगर कार्यपालिका सदस्य कृष्ण कनाल, दतिल उत्थान समन्वय समिति मेचीनगर
अध्यक्ष ध्रुव कनालले विरोध सभालाई सम्बोधन गरेका थिए ।

विरोध जुलुसमा दतिल, गैर दलित समुदायका सयौं ब्यक्तिहरुको उपस्थिति रहेको थियो । दलित उत्थान समन्वय समिति मेचीनगर सचिव राजकुमार बिश्वकर्माले सञ्चालन गरेको विरोध सभाको अध्यक्षता समन्वय समिति अध्यक्ष धु्रब कनालले गरेका थिए ।

प्रतिकृया दिनुहोस्