News Portal

ब्रेन ट्यूमर पीडित खड्काद्वारा आर्थिक सहयोगको अपिल

रातोपोस्ट संवाददाता
४५१ पटक

झापा । ४ वर्ष अघि शल्यक्रिया गरिएको ब्रेन ट्युमरको समस्या बल्झिएपछि सागर खड्काको उपचारमा आर्थिक अभाव भएको छ ।
मेचीनगर–९ लिलावस्ती निवासी २८ वर्षीय खड्काको उपचारका लागि आथिक अभाव भएको हो । आर्थिक अवस्था दयनीय भएका खड्काले बीएस्सी अध्ययन गरेका छन् ।

उनको उपचारका लागि सहयोग जुटाउन ९ सदस्यीय सागर खड्का उपचार सहयोग समिति गठन गरिएको छ । समितिको संयोजकमा गोपाल बस्नेत र सचिवमा कविनद्र श्रेष्ठ रहेका छन् भने सदस्यमा ऋषिराज तिम्सिना, माधव फुँयाल, विपुल श्रेष्ठ, हरि कोइराला, रेणुका डाँगी उप्रेती, अस्मिता खरेल र नृपेन्द्र श्रेष्ठ रहेका छन् ।

समितिले विहीवार मेची उद्योग वाणिज्य संघको सभाहलमा पत्रकार सम्मेलन गरी सागर खड्काको नाममा नेपाल बैङ्क लिमिटेड धुलावारीमा रहेको खाता नं. ०५५०१७०६५७२५२९०००००१ मा सहयोग रकम जम्मा गरिदिनु सम्पूर्ण दानवीर महानुभाव तथा संघ संस्थाहरुमा अपिल गरिएको छ ।
उनकी आमा पूर्णिका खड्काले हालसम्मको उपचारमा १० लाख रुपैयाभन्दा बढी खर्च भइसकेको हुँदा अब उपचारका लागि आर्थिक सहयोग गरिदिनुहुन सार्वजनिक अपिल गरेकी छन् ।

उपचारमा चारदेखि पाँच लाख रुपैयाँसम्म खर्च लाग्ने अनुमान गरिएको समितिका संयोजक बस्नेतले बताएका छन् । २०७३ साल भदौं २ गते विर्तामोडको बीएन्डसी हस्पिटलमा न्यूरोसर्जन डा. सीपी लिम्बुले उनको टाउकाको शल्यक्रिया गरी ब्रेनको ट्युमर फालेका थिए । तर चार वर्षपछि सोही ठाउँमा ट्युमर बल्झिएको छ । उनको पहिलोपटक शल्यक्रिया गर्ने डा. लिम्बुु हाल विर्तामोडको बिर्तासिटी हस्पिटलमा रहेको हुँदा खड्काको दोस्रोपटकको शल्यक्रिया डा. लिम्बुबाट विर्तासिटी हस्पिटलमै गरिने समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस्