News Portal

नेकपाको स्थायी कमिटि बैठक शुरु

रातोपोस्ट संवाददाता
४७७ पटक

काठमाडौं, असार १६ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को स्थायी कमिटि बैठक शुरु भएको छ ।

गत असार १० गतेबाट बस्न शुरु गरेको स्थायी कमिटि बैठकले विभिन्न ७ एजेण्डाहरु तय गरेको छ । पहिलो दिन दुबै अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आ आफ्नो मन्तव्य राखेका थिए । त्यस्तै अन्य दिन भने स्थायी कमिटि सदस्यहरुले नेपाल र भारत सीमा विवाद तथा अन्य पूर्व निर्धारित एजेण्डामाबारे आ-आफ्नो धारणा राखेका थिए ।

बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), सीमा विवाद, नागरिकता विधेयक, कोरोना भाइरस कोभिड–१९ का विषयमा छलफल हुने भएकाले उक्त बैठकलाई महत्वपूर्ण मानिएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणमा पछिल्लो समय सरकारको कामकारवाहीका विषयलाई लिएर नेकपाकै नेताहरुले प्रधानमन्त्रीको चर्को आलोचना गर्दै आएका छन् । असार १४ गते मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिले पछिल्लो समय उनको पार्टी तथा आम मानिसहरुमा तरङ्ग पैदा भएको छ ।

उनले एक सभालाई सम्बोधन गर्दै नेपालको अतिक्रमित भूमीसहितको नक्सा जारी गरेसँगै भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन लागेको र त्यसमा नेपालका नेताहरुको समेत हात रहेको बताएका थिए । आजको बैठकमा उनी निकटका नेताहरुले उक्त विषयमा छलफल गर्ने बुझिएको छ ।

यसअघि शनिबार बसेको बैठकमा देवेन्द्र पौडेल, सुरेन्द पाण्डे, सुवास नेम्वाङ, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र रघुजी पन्तले आफ्नो धारणा राखेका थिए । यस्तै टोप बहादुर रायमाभी, सत्यनारायण मण्डल, युवराज ज्ञवाली, लेखराज भट्ट, नन्द कुमार प्रसाई, प्रदीप ज्ञवाली मणी थापा, घनश्याम भूसाल, शक्ति बस्नेत, बामदेव गौतम, योगेश भट्टराई, पृथ्वी सुब्बा गुरुङ, इश्वर पोखरेल, विष्णु पुकार श्रेष्ठ र पुष्प कडेलले पनि शनिबारको बैठकमा आफ्नो धारणा राखेका थिए । शुक्रबारको बैठकमा अनुपस्थित हुनुभएका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली आजको बैठकमा केही समय सहभागिभएका थिए ।

प्रतिकृया दिनुहोस्