News Portal

सुदूरपश्चिममा पुग्यो सलह

रातोपोस्ट संवाददाता
६४७ पटक

बैतडी,असार १८ । भारत हुँदै नेपाल प्रवेश गरेको सलह कीरा सुदूरपश्चिममा पनि पुगेको छ । कृषिबालीमा क्षति पु¥याई अनिकाल निम्त्याउने सलह (डेजर्ट लोकस्ट) फट्याङ्ग्रा सुदूरपश्चिमका विभिन्न जिल्लामा देखिएको छ ।

गत शनिबार नेपाल भित्रिएको सलह किरा बैतडीसहित सुदूरपश्चिमका विभिन्न जिल्लामा पनि देखा परेको हो ।

सुदूरपश्चिमको पहाडी जिल्ला बैतडी, डडेल्धुरा र तराईको जिल्ला कैलालीमा देखिएको हो । यसअघि तराईका जिल्लामा प्रवेश गरेको सलह कीरा बुधबार पहाडी जिल्लामा बैतडीमा देखिएको छ । बैतडीको पाटनका विभिन्न क्षेत्रमा सलह कीरा देखिएको हो ।

पाटन नगरपालिका–१ मा सलह देखिएको वडा नं १ का अध्यक्ष गणेशदत्त भट्टराईले बताए । खेतबारीमा सलह कीरा देखिएपछि स्थानीयवासी यति बेला आगो बाल्नुका साथै ठूलो आवाज निकालेर भाँडाकुँडा ठटाएर सलह कीरा धपाउन जुटेका छन् ।

यस्तै, नगरपालिकाको वडा नं १० को ठाँटामा पनि सलह कीरा देखिएको पाटन नगरपालिकाका कृषि शाखा प्रमुख महेश अवस्थीले पुष्टि गरेका छन । ‘नगरपालिकाका केही क्षेत्रमा सलह कीरा देखियो भनेर किसानले खबर गरेपछि फिल्डमा जाँदा सलह कीरा भेटिएको हो’, उनले भने– ‘अहिले धेरै ठूलो झुन्ड नभए पनि एक /दुई सयको झुन्ड देखा परेको छ ।’

सलह फट्याङ्ग्रा एक वर्ग किलोमिटर क्षेत्रमा फैलिएर बस्ने र एउटा बथानमा लाखौं किरा हुने विज्ञहरूले बताएका छन् । यो फट्याङ्ग्रामा सम्पूर्ण कृषिबालीको बोट–विरुवा, बाली, फुल, डाँट, डाँटको बोक्रासम्म खाइदिने क्षमता भएकाले प्रवेश गरेको स्थानमा ठूलो भोकमरी र अनिकाल पर्ने गरेको बताइएको छ ।

बैतडीमा सलहको ठूलो झुण्ड नपुगेकाले बालीनालीमा त्यति क्षति पु¥याउन नसक्ने कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए । फेदकटुवा कीराको प्रकोप झेलीरहेका बैतडीका विभिन्न ठाउँका किसान सलह कीरा पनि देखिन थालेपछि चिन्तित बनेका छन् ।

प्रतिकृया दिनुहोस्