News Portal

बादलले छाडे प्रधानमन्त्री ओलीको साथ

रातोपोस्ट
६५० पटक

काठमाडौं, असार १८। पार्टीभित्रको अन्तरसंघर्षमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई निरन्तर साथ दिँदै आएका सचिवालय सदस्य गृहमन्त्री रामबहादुर थापा बादलले बुधबारदेखि केपी ओलीको साथ छाडेका छन् ।

बुधबार साँझ ललितपुरको झम्सिखेलमा आयोजित ओली इत्तरका नेताहरुको छलफलमा गृहमन्त्री थापा खुलेरै प्रस्तुत भए । बुधबारै बिहान बालुवाटारमा ओली समूहको बैठकमा सहभागी भएता पनि बादल खुलेर प्रस्तुत भएका थिएनन् ।

अहिले असाधारण परिस्थिति आएकाले यस्तो परिस्थितिमा पार्टीको बहुमतले गर्ने निर्णय सबैले मानेर अघि बढ्नुपर्ने गृहमन्त्री थापाले झम्सिखेलको छलफलमा धारण राखेको सहभागी एक नेताले बताए ।

पार्टीको उद्देश्य समाजवादसम्म जाने भएकाले सबैले विधि-पद्दति अनुसार चल्नुपर्ने बादलले बैठकमा बताए । साथै उनले अहिलेको सरकारको नेतृत्व परिवर्तन गर्नुपर्ने धारणा राखेको बैठकमा सहभागी नेताहरु बताउँछन् । पूर्वमाओवादी समूहका एक नेताले भने, ‘आज बादलजी खुल्नुभयो । झम्सिखेल बैठकमा सहभागीमात्र हुनुभएन, बोल्नु पनि भयो ।’

आफूहरु मन्त्री पदमा भएकाले सुरुमा प्रधानमन्त्रीको विपक्षमा खुल्न अप्ठ्यारो भएको झम्सीखेल बैठकमा सहभागी मन्त्रीहरुले बताएका थिए । झम्सीखेलमा गृहमन्त्री थापाका साथै बहालवाला मन्त्रीहरु, घनश्याम भुसाल, शक्ति बस्नेत र वर्षमान पुनसमेत सहभागी थिए ।

प्रधानमन्त्रीको विपक्षमा यसरी मन्त्रीहरु नै खुलेर लागेपछि अब केपी ओली पार्टीमा मात्र नभई क्याबिनेटमा समेत नैतिक संकटमा परेका छन् ।

प्रलोभनको प्रयास काम लागेन !

प्रधानमन्त्री ओली र उनी निकटका नेताहरुले माधव नेपाल र प्रचण्डपक्षमा रहेका कतिपय नेतालाई आफूतिर तान्न अनेकौं प्रयास गर्दै आएका थिए । गृहमन्त्री थापालाई सचिवालयमा ओलीले सधैं आफ्नो पक्षमा राख्दै आएका थिए । वामदेव गौतमलाई पनि त्यसै गरेका थिए । तर, अहिले सचिवालयमा महासचिव विष्णु पौडेल र ईश्वर पोखरेलले मात्र ओलीलाई साथ दिएका छन् ।

यसअघि प्रधानमन्त्री ओली पक्षबाट बालुवाटारमा हस्ताक्षर अभियान चलाइँदा पूर्वमाओवादी खेमाका केही नेताहरुलाई मन्त्री बनाउने वचन समेत उनले दिएका थिए ।

यसवीचमा ओली खेमाका नेताहरुले माधव नेपाल समूहका सुरेन्द्र पाण्डे लगायतलाई मन्त्री बनाएर आफ्नो समूहमा तान्ने प्रयाससमेत गरेको नेताहरु बताउँछन् ।

योगेश भट्टराई र घनश्याम भुसाललाई त्यही उद्देश्यले मन्त्री बनाइएको भएता पनि अहिले अन्तिम घडीमा उनीहरु आफ्नो पूर्वसमूहतिरै नजिक बन्न पुगेका छन् ।

स्थायी कमिटी सदस्य एवं बहालवाला मन्त्री लेखराज भट्टलाई भीम रावलसँगको अन्तरविरोधमा खेलेर प्रधानमन्त्री ओलीले आफ्नो नजिकमा ल्याएका थिए । टोपबहादुर रायमाझीलाई उनले सुरुदेखि नै आफू निकट राखेका थिए ।

तर, अब आफ्नै क्याबिनेटका मन्त्रीसमेत ओलीको विपक्षमा खुलेर उभिएपछि उनीमाथि ठूलो संकट आइपरेको छ ।

४४ सदस्यीय स्थायी कमिटीमा केपी ओलीको पक्षमा लगभग १३/१४ जना नेता मात्र छन् । उनीहरु पनि कतिपय ओलीलाई छाडेर बहुमतको खेमामा आउने दाबी प्रचण्ड-माधव पक्षको छ । अनलाइनखबर

प्रतिकृया दिनुहोस्