News Portal

नेकपा भित्र विवाद व्यापक बढेपछि एकता टुट्न नदिन शिर्ष नेतालाई दबाब !

रातोपोस्ट संवाददाता
४४६ पटक

काठमाडौँ,असार १९ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी फुट्ने डरले दोस्रो तहका नेताहरु सक्रिय भएका छन् । उनीहरुले शिर्ष नेताहरुलाई भेटेर र सामाजिक संजालमा आफ्नो प्रतिक्रिया दिएर नेताहरुमाथि दबाब बनाउन शुरु गरेका छन् ।
कैयौ नेताहरुले पार्टी एकता टुट्न नहुने प्रतिक्रिया दिइरहेका बेला नेकपामा अब के हुन्छ भन्ने प्रश्न सबैले गरेका छन् ।

विहिबार दिनभरीको घटनाक्रमले पार्टी भित्र ठुलो समस्या देखिएको स्पष्ट भएपछि अब यसलाई कसरी मिलाउने भन्ने मध्यमार्गी बाटोको खोजीमा लागेको नेकपा नेताहरुले बताएका छन् ।

अहिले दुवै पक्ष मिलेर जाऊ भन्ने बाहेक ठोस प्रस्ताव कसैले कसैलाई नराखेको बताइएको छ । यस अघिका विवादहरुमा मध्यमार्गी भूमिका खेलेका पार्टी महासचिव विष्णु पौडेल लगायतका नेताहरु खासगरी दुई अध्यक्षलाई मिलाउन आफ्नो भूमिका खेलिरहेको बालुवाटार स्रोत बताउछ । बाहिरबाट हेर्दा पार्टी विभाजनको स्तरमा पुगे जस्तो देखिएपनि अन्तत: पार्टी फुटीहाल्ने आवस्था नआउने दाबी ओली निकट नेताले खरीबोटसँग गरे ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सरकारमा गएदेखि नै असहयोग भएको, र लगातार गुटको भेला गरेर घेराबन्दी गरिएका कारण प्रधानमन्त्रीको असन्तुष्टि स्वाभाविक भएको ति नेताले खरीबोटलाई बताए ।

त्यस्तै पार्टी एकतामा संकट परेको भन्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक संजालमा आफ्नो असन्तुष्टि र खबरदारी गरेका छन् । उनले भनेका छन् – ‘२००६ सालमा नेकपाको स्थापना भए जत्तिकै ऐतिहासिक महत्वको महान कार्य हो हाम्रो पार्टी एकता र आजको एकीकृत नेकपाको गठन । अत: प्रतिकृयावादी शक्तिको चाहाना पूरा गर्ने गरी पार्टी बिभाजन गर्ने, पुँजीवादी पार्टीको रुपमा बदल्ने वा पार्टीको बिघटन वा बिसर्जन गर्ने कार्य स्विकार्य हुनै सक्तैन । कमरेडहरु हो! यस संकटको घडीमा पार्टी एकताको रक्षा र क्रान्तिकारी रुपान्तरणको निम्ति आ-आफ्नो ठाँउबाट भुमिका खेलौं । देश र जनतालाई धोखा दिने कार्य नगरौं र कसैलाई गर्न नदिऔं ।’

त्यस्तै नेकपा स्थायी कमिटी सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक संजालमा टिप्पणी गर्दै पार्टी एकताको रक्षा गर्नु दुवै अध्यक्षको कर्तव्य भएको बताएका छन् ।

उनले भनेका छन् – ‘ पार्टी एकताको विकल्प अझ सुदृढ पार्टी एकता हो । हिजो जुन जगमा पार्टी एकता घोषणा गरियो त्यसको रक्षागर्नु दुबै अध्यक्षको कर्तव्य हो ।’

त्यस्तै उपप्रधानमन्त्री इश्वर पोखरेलले सामाजिक संजाल मार्फत आफ्नो अभिव्यक्ति दिदै भनेका छन् – ‘ पद्धतिको सिमा मिचेर, जोरीपारी हँसाएर पार्टी पंक्ति र आम जनताको मन अमिलो पार्ने गरी भैरहेका कामका विरूद्ध पार्टी एकतालाई थप सुदृढ़ बनाउन नेकपाको स्थायी कमिटीको बैठक जारी ….!’

त्यस्तै नेकपाका कैयौं केन्द्रीय सदस्य र जिल्ला स्तरका नेताहरुले एकता टुट्न नदिन केन्द्रीय नेतृत्वलाई अपिल गरेका छन् ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले भने जस्तै आज दिनभर दुवै अध्यक्ष सहितका नेताहरु बसेर सहमतिको मध्यमार्गी बाटो खोज्न पहल हुने छ । शनिबारको बैठक अगाडी हुने छलफल नेकपाको आगामी बाटोको लागि निकै महत्वपूर्ण मानिएको छ ।

पार्टीका अधिकांश नेताहरुको विचार र पार्टीको लाइन भन्दा प्रधानमन्त्री ओली फरक बाटोमा हिडेकाले स्थिति त्यति सहज समेत नभएको टिप्पणी हुन थालेको छ ।

प्रतिकृया दिनुहोस्