News Portal

जनार्दन शर्मा भन्छन् : पार्टी फुट्दैन, फुटाउन दिइँदैन

रातोपोस्ट संवाददाता
७२० पटक

काठमाडौँ, असार २०। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ ले नेकपा पार्टी नफुट्ने
बताएका छन्। उनले अहिले नेकपाभित्र देखिएको समस्या सीमित नेताहरुको समस्या नभएको जिकिर गरेका छन्।

पार्टीलाई एकताबद्ध गरी राष्ट्र र जनताको आवश्यकतामा सञ्चालन गर्न नेकपाका हामी आम नेता कार्यकर्तामा गम्भीर जिम्मेवारी आएको शर्माको बुझाइ छ । दुई नेताले के गर्लान भनेर अब हेरेर बस्नु नहुने उनको भनाइ छ ।

‘पार्टीलाई विचार, विधि र पद्धतिबाट विचलित गरी व्यक्तिका आ–आफ्ना स्वार्थपुर्तिको हतियार बन्न दिन नहुने शर्माले बताए । ‘कार्यकर्ता र जनताको आग्रह अस्वीकार गर्ने अधिकार कुनै नेता विशेषलाई छैन,’ शर्माले लेखेका छन् ।

एकता गर्दा गरिएका सहमति, आम जनता र कार्यकर्ताको सुझावको आधारमा तयार हुने सहमतिको नयाँ प्रस्ताव स्वीकार गरी रुपान्तरणसहित नेतृत्व गर्न शर्माले नेताहरूलाई आग्रह समेत गरेका छन् ।

प्रधानमन्त्री ओलीले गत आइतबार दिएको विवादास्पद अभिव्यक्तिका कारण पछिल्लो समय नेकपाभित्र विवाद उग्र बनेको छ । ओलीले आफ्नो सरकार ढाल्न भारत र पार्टीकै नेताहरुको चलखेल बढेको अभिव्यक्ति दिएपछि जारी स्थायी समिति बैठकमा समेत ओलीको चर्को आलोचना भएको थियो । बैठकमा ओलीको प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा माग भएको छ ।

यही विवादका कारण ओली एकातिर र अर्का अध्यक्ष प्रचण्डसहितका सचिवालयका ६ नेता अर्कातिर भएका छन् । पार्टीभित्र विवाद उग्र रुप लिँदै विभाजनको रेखा कोरिँदै गएको सन्दर्भमा नेताहरुबीच सहमतिको प्रयास भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन । सहमति जुट्न नसकेको नेताहरुले बताइरहेको बेला आजका लागि तय भएको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ ।

प्रतिकृया दिनुहोस्