News Portal

गृहमन्त्री थापासहित नेकपा सचिवालयका ६ जनाको खुमलटारमा छुट्टै भेला

रातोपोस्ट संवाददाता
८०२ पटक

काठमाडौं, असार २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यको छुट्टै बैठक बसिरहेको छ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको असमझदारी उत्कर्षमा पुगेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलमा नेकपा सचिवालयका ६ जना सदस्यले छुट्टै भेला आयोजना गरेका हुन्।

शनिबार बिहान ओलीसँग भेटने योजना रद्द गरेपछि दाहालसहित सचिवालयका ६ जना साँझ उनकै निवास खुमलटारमा भेला भएका हुन्। ओलीसँग अब कसरी प्रस्तुत हुने भन्ने विषयमा यो भेलाले रणनीति तय गर्ने सचिवालयका एक सदस्यले बताए।

नेकपामा टकराव बढेसँगै ओली पक्षमा उभिँदै आएका गृहमन्त्री रामबहादुर थापा पहिलो पटक आज प्रचण्ड–माधव नेपाल समूहको सचिवालय भेलामा सहभागी भएका छन्। केही दिनअघि ललितपुरको झम्सिखेलमा भएको यो समूहका स्थायी समिति सदस्यहरूको भेलामा सहभागी भएर थापाले समूह परिवर्तन गरेको खुलाएका थिए।

थापा पनि प्रचण्ड–नेपाल समूहतिर खुलेसँगै यो समूहमा सचिवालयका ६ जना भएका छन्। अध्यक्ष दाहाल, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र थापाले छुट्टै भेला गरेका हुन्। यो भेलामा अध्यक्ष ओली, महासचिव विष्णु पौडेल र सचिवालय सदस्य ईश्वर पोखरेल मात्र सहभागी छैनन्।

प्रतिकृया दिनुहोस्