News Portal

  • झापाका ओली समर्थक युवाको प्रचण्डलाई चेतावनी–‘महाधिवेशनबाट अध्यक्ष जितेर देखाउनुस् ।’

    रातोपोस्ट संवाददाता
    १८११ पटक

    झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थन गर्दै नेकपाको जिल्ला कार्यालय बिर्तामोडमा पार्टी निकट युवा तथा विद्यार्थी संगठनका कार्यकर्ताले मंगलबार धर्ना दिएका छन् ।

    प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको गृह जिल्ला झापाका युवाले उनको समर्थनमा नाराबाजी गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीको एकलौटी अध्यक्ष बन्न भए चुनाव लड्न चेतावनी दिए ।

    धर्नामा बसेका राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य पर्वत राजभण्डारीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एकलौटी अध्यक्ष बन्ने इच्छा भए पार्टीको महाधिवेशनको मिति तोकेर अध्यक्ष जित्न चेतावनी दिए ।

    ‘म अध्यक्ष हुन्छु भनेर मात्र हुन्छ ?’ उनले भने–‘पार्टीको महाधिवेशनको मिति तोक्नुहोस् र अध्यक्ष जितेर आउनुहोस् ।’ केन्द्रीय समितिमा बहुमत र अल्पमतको खेलमा नलागी जनताले ५ वर्षका लागि दिएको म्याण्डेट अनुसार अघि बढ्नुपर्नेमा जोड दिए । पार्टी फुटाउन खोज्नेहरुलाई सचेत रहन आग्रह गर्दै उनले पार्टीमा विभाजन ल्याउनेहरुलाई होसियार रहन चेतावनी दिए ।

    त्यस्तै, अर्का वक्ता युवा संघका पूर्व केन्द्रीय सचिव राजु कार्कीले प्रधानमन्त्री ओलीलाई पाँच वर्षे कार्यकालका लागि प्राप्त जनमतको कदर गर्न पार्टीका शीर्षस्थ नेताहरुलाई आग्रह गर्दै राष्ट्रियताको सवालमा इतिहासकै सर्वाधिक लोकप्रिय वर्तमान सरकारप्रति नेपालीहरुले गर्व गर्नुपर्ने बताए ।
    त्यसक्रममा अनेरास्ववियुका केन्द्रीय सदस्य मनोज ताम्लीले राष्ट्रियताको पक्षमा अडिग एकमात्र प्रधानमन्त्री ओलीमाथि गरिएको घेराबन्दी सह्य नहुने बताउँदै प्रधानमन्त्री विरुद्ध षड्यन्त्र गर्नेहरुलाई झापालीहरुले नङ्ग्याएर छाड्ने चेतावनी दिए ।

    ‘प्रधानमन्त्रीलाई घेराबन्दी गर्ने प्रपञ्च रचिए हजारौं युवा र विद्यार्थी सडकमा निस्किनेछन्’ उनले भने–‘प्रधानमन्त्रीको प्रतिष्ठामाथि आँच पुर्याउने षड्यन्त्र हामीलाई मान्य छैन, नेपाली जनताले त्यसको प्रतिवाद गर्नेछन् ।’

    सो अवसरमा अनेरास्ववियूका केन्द्रीय सदस्य डम्बर अधिकारीलगायतले सम्बोधन गरेका थिए । धर्नापछि युवा र विद्यार्थी नेताहरुले पार्टीका जिल्ला कार्यालय सचिव शिव ढुंगेललाई ज्ञापन पत्र बुझाएका कार्यक्रमका सञ्चालक राष्ट्रिय युवा संघका जिल्ला सचिवालय सदस्य सागर पोर्तेलले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)