News Portal

विपद्को समय सबैलाई उद्धारमा जुट्न प्रधानमन्त्रीको आग्रह

रातोपोस्ट संवाददाता
४७७ पटक

काठमाडौं, असार २६। प्रधानमन्त्री केपी शर्मा ओलीले देशका विभिन्न स्थानमा बाढी-पहिरो जस्ता प्राकृतिक विपत्तिका कारण ठूलो धनजनको क्षति भइरहेको समयमा आफ्नो ध्यान आमनागरिकको जीवनरक्षामा केन्द्रित रहेको बताएका छन्।

देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विपद र विपत्ति आइलागेका ठाउँमा तत्काल उद्धार कार्यमा जुट्न सबैलाई आह्वान गरेका छन्।

“हामीले महामारी र प्राकृतिक विपत्तिप्रति खेलवाड गरेर महाविपत्ति निम्त्याउन कीमार्थ पनि मिल्दैन। तसर्थ जहाँ विपद् र विपत्ति आइलागेको छ, त्यहाँ सरकारका तीनवटै तह, जनप्रतिनिधिहरू, राजनीतिक नेता, कार्यकर्ताहरू एकजुट भएर सम्भव सबै प्रकारका उद्धार, सहयोग र तत्काल उपचारको कामलाई प्रभावकारीरूपमा अघि बढाइहाल्नु पर्दछ,” प्रधानमन्त्री ओलीले सम्बोधनमा भने।

पछिल्ला केही दिनमा देशका विभिन्न भागमा अविरल वर्षाका कारण आएको बाढी र पहिरोले पुर्‍याएको क्षतिको जानकारीले आफूलाई स्तब्ध पारेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस्ता विपत्तिबाट सुरक्षित हुन सरकारले उद्धार, राहत र पुनर्स्थापनाका कामसँगै विपद न्यूनीकरणका उपायहरू पनि अवलम्बन गरिरहेको बताए।

गत जेठ ३१ देखि असार २६ गतेसम्म देशका ११ जिल्लामा बाढी/पहिरोका कारण ३५ जनाले ज्यान गुमाइसकेका छन् भने ३२ जना घाइते छन्। ३४ जना भने अझै वेपत्ता छन्।

सरकारी तथ्यांकअनुसार एक सय घरमा क्षति पुगेको छ भने ३०१ परिवार विस्थापित भएका छन्। हालसम्म पर्वत, बझाङ, गुल्मी, लमजुङ, कास्की, रुकुम पश्चिम, जाजरकोट, सिन्धुपाल्चोक, तनहुँ, म्याग्दी र दोलखा गरी आठ जिल्लामा पहिरोले क्षति पुर्‍याएको छ। बाढी पहिरोका कारण ३५ जनाले ज्यान गुमाएकोमा दुःख व्यक्त गर्दै प्रधानमन्त्रीले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

कोरोना महामारीसँग जुधिरहेको बेला प्राकृतिक विपत्ति पनि सामना गर्नुपरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले महामारीका कारण अर्थतन्त्रमा परेको प्रभावलाई व्यवस्थापन र पुनरुत्थानमा लागिपरेको चर्चा गरे।

कोरोना महामारीको संकट हटिनसकेको तथा काठमाडौं उपत्यकामा झन जोखिमको अवस्था सिर्जना भएको कारण गम्भीरता, अनुशासन र सचेतनता अपनाउन प्रधानमन्त्री ओलीले आग्रह गरे।

सरकारले विपत्तिमा पर्नै नपरोस् भनेर असुरक्षित स्थानमा बसोबास गर्नेलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा विपद् न्यूनीकरणका उपायहरू अवलम्बन गर्ने दूरगामी महत्वका कार्यक्रमहरू सञ्चालन गरिरहेकोमा प्रधानमन्त्री ओलीले जोड दिए।

कोरोना महामारी नियन्त्रणमा लिने प्रयासस्वरूप सरकारले सुरुदेखि नै पीसीआर परीक्षणमा जोड दिएको उल्लेख गर्दै प्रधानमन्त्रीले कूल जनसंख्याको २ प्रतिशतको पीसीआर परीक्षण पुर्‍याउने लक्ष्य स्मरण गरे।

शुक्रबारसम्ममा २ लाख ७५ हजार ९ सय ५१ जना संक्रमितहरूको पीसीआर परीक्षण गरिसकेको र जनसंख्याको २ प्रतिशतको परीक्षण गर्ने प्रयास जारी रहेको उनले बताए।

चैत ११ बाट जारी लकडाउनको अवधिमा भारतबाट २ लाख ८८ हजार ८ सय ६४ र अन्य विभिन्न मुलुकहरूबाट २३ हजार २ सय ५४ जना नेपालीहरू स्वदेश फर्किएको तथ्यांक प्रस्तुत गरे।

प्रधानमन्त्री ओलीले काठमाडौंमा संक्रमण समुदायस्तरमा फैलिए स्थिति भयावह हुने भन्दै सर्वसाधारणलाई सचेत गराए। महामारीबाट जोगिन सामाजिक दूरी कायम गर्ने, मास्क प्रयोग गर्ने र समय-समयमा हात धुने जस्ता कामका लागि उनले सर्वसाधारणको ध्यानाकर्षण गराए।

शुक्रबारसम्म नेपालमा १६ हजार ६ सय ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ। त्यसमध्ये ३५ जनाको मृत्यु भइसकेको छ भने ८ हजार ११ जना पूर्णरूपमा निको भएर घर फर्किइसकेका छन्। देशका विभिन्न स्थानमा बनाइएका क्वारेन्टाइनमा २३ हजार ९ सय १० जना छन्।

प्रतिकृया दिनुहोस्