News Portal

झापामा १ लाख ४४ हजार रुपैयाँ भारतीय नक्कली नोटसहित ३ जना पक्राउ

रातोपोस्ट संवाददाता
१३०७ पटक

झापा, असार २९ । झापाको सुरुङ्गाका सुनचाँदी व्यवसायी मौसम श्रेष्ठको घरमा छापा मारेर प्रहरीले नक्कली भारतीय रुपैयाँ बरामद गरेको छ । व्यावसायिक कारोवारमा नक्कली भारतीय रुपैयाँको प्रयोग भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडले श्रेष्ठको घरमा छापा मारेको हो । छापाका क्रममा श्रेष्ठको घरबाट १ लाख ४४ हजार भारतीय नक्कली रुपैयाँ बरामद भएको बिर्तामोड प्रहरीका प्रमुख डीएसपी मुकुन्द रिजालले बताए ।

बरामद गरिएका नोट ५ सय दरका छन् । प्रहरीले २८८ वटा नोट बरामद गरेको हो । प्रहरीले नक्कली नोटको कारोवारमा संलग्न भएको अभियोगमा झापाको कनकाई नगरपालिका–४ का खुर्सेद आलम र झापा गाउँपालिका–५ का एराजुल हकलाई पनि पक्राउ गरेको छ ।

सीमावर्ती क्षेत्रबाट हकले भारतीय नक्कली नोट आलमलाई सप्लाई गर्दै आएको खुलेको छ । आलमले श्रेष्ठलाई भारतीय नोट दिने गरेका थिए । श्रेष्ठमार्फत भारतीय नक्कली नोट बजारसम्म पुग्ने गरेको प्रहरी अनुमान छ ।

‘लकडाउन खुकुलो भएको मौका छोपेर भारतीय तस्करसँगको साँठगाँठमा नक्कली भारतीय रुपैयाँ झापाका बजारमा भित्रिएको हुनसक्छ’, डीएसपी रिजालले भने, ‘प्रारम्भिक अनुसन्धानका क्रममा छौँ, धेरै कुरा खुल्न बाँकी छ ।’आलम र हकले ती नोट भारतबाट ल्याएको प्रारम्भिक बयान प्रहरीमा दिएका छन् । त्यसैका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । उनीहरुका साथबाट नेपाली २० हजार पाँचसय रुपैयाँ बरामद भए पनि ती भने नक्कली नपाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्