News Portal

ज्यान मुद्दामा जेलमा रहेका शिक्षकलाई तलब

रातोपोस्ट संवाददाता
५४३ पटक

बैतडी, असार ३० : बैतडीमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहरिएका दुईजना प्रधानाध्यापकलाई तलब दिएको खुलेको छ ।

जिल्लाको बटैराज प्राथमिक विद्यालयका तत्कालिन प्रधानाध्यापक रतनसिंह भण्डारी कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भए पनि निजलाई कारवाही गर्नुको सट्टा तलब भत्ता दिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा खुलासा भएको छ ।

आयोगले प्रकाशित गरेको विज्ञप्तिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकसिंह भण्डारीको सहमतिमा प्रधानाध्यापक रतनसिंह भण्डारीले ८३ हजार १ सय रुपैयाँ लिएको खुलेको छ । सरकारी रकमको दुरुपयोग गरेकाले अख्यितारले सो रकम असुल उपर गरी पाउन भन्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद २ को दफा १७ बमोजिम कसुर गरेकोले तत्कालिन प्रधानाध्यापक भण्डारी र अध्यक्ष टेकसिंह भण्डारीबाट बिगो असुल उपर गर्न अख्तियारले माग गरेको छ ।

यस्तै जिल्लाको जशलिंग प्राविका तत्कालिन शिक्षक महानन्द कपाडीलाई पनि नियम विपरीत तलब खुवाएको अख्यितारले जनाएको छ । अख्तियारले गरेको छानबीनमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका कपाडीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज कपाडी र श्रोत व्यक्ति हरि नाथको सहमतिमा ८१ हजार ९ सय तलब खुवाएको अख्तियारले गरेको छानबीनबाट पुष्टि भएको छ ।

सरकारी रकमको दुरुपयोग गरेको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज कपडी, श्रोतव्यक्ति हरि नाथ र विद्यालयका तत्कालिन शिक्षक महानन्द कपाडीबाट सो रकम असुल उपर गर्न विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख छ ।

उनीहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद २ को दफा १७ बमोजिम कसुर गरेकोले सो रकम असुल उपर गर्न विशेष अदालतमा आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोट घर भएका महानन्द कपाडी र दोगडाकेदार ४ का रतनसिंह भण्डारी कर्तव्य ज्यान मुद्दामा २०७४ असार १५ मा जेल परेका थिए । २ वर्ष कैद सजाय र ८२ हजार जरीवाना सहित जेल परेका दुवै जना २०७५ साल जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा जेल मुक्त भएका थिए । उनीहरु ६४ प्रतिशत कैद भुक्तान गरेपछि गणतन्त्र दिवसको अवसरमा छुटेका थिए ।

प्रतिकृया दिनुहोस्