News Portal

सुनसरीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, गोली लागेर एक जना घाइते

रातोपोस्ट
९८९ पटक

धरान, साउन ३ : सुनसरीको हरिनगरमा गएराति तस्कर समूह र सशस्त्र प्रहरीबीच झडप भएको छ। तस्कर समूहले भारतबाट अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको सामान सशस्त्र प्रहरीले शुक्रबार राति बरामद गर्न खोजेपछि दुवै समूहबीच झडप भएको थियो।

नेपाल-भारत सीमा नजिकैको मोरम चोकमा तस्कर समूहले अवैध सामान नेपाल भित्र्याउँदै गरेपछि सशस्त्र प्रहरीले बरामत गर्न खोज्नासाथ तस्कर समूहले ढुङ्गामुढा प्रहार गरी हतियार खोस्ने प्रयास गरेकाले बाध्य भएर गोली हान्नु परेको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले जानकारी दिए।

सशस्त्र प्रहरीको गोली लागि सुनसरी हरिनगराका २० वर्षीय सवाज अन्सारी गम्भीर घाइते भएका छन्। उनको पेटमा गोली लागेको छ। अन्सारीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

तस्करहरुको समूहले हानेको ढुङगा लागेर सशस्त्र प्रहरी जवना जिवराज विशंखे घाइते भएका छन्। उनको सशस्त्र प्रहरीको पूर्व क्षेत्रिय अस्पताल पकलीमा उपचार भइरहेको सशस्त्र प्रहरी ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकालले जानकारी दिए।

शनिबार बिहानै घटनास्थलमा सयौंको संख्यामा स्थानीय भेला भएका छन्। स्थानीय वासिन्दाले प्रहरीको विरोध गर्न थालेपछि हरिनगरा गाउँपालिका अध्यक्ष गफार अन्सारी र र सशस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकाल घटनास्थल पुगेर स्थिति साम्य पार्ने काम भइरहेका सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले बताए।

बिहीबार रातिपनि हतियार धारी समूहबीच देवानगन्जमा दोहोरो भिडन्त भएको थियो। प्रहरी र हतियार धारीबीच दोहोरो भिडन्त हुँदा दुई हतियारधारी घाइते भएका छन्। दुवैको प्रतिष्ठानमा उपचार भइरहेको छ। अन्नपूर्ण पोस्ट

प्रतिकृया दिनुहोस्