News Portal

श्रीमती हत्याको अभियोगमा जन्मकैद रहेका पूर्वडिआइजी कोइरालाको कैद सजाय सर्वोच्चले घटायो

रातोपोस्ट
५७५ पटक

काठमाडौं, साउन ४ । सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जनकुमार कोइरालाको कैद सजाय घटाएको छ ।

श्रीमती हत्याको अभियोगमा अदालतले सुनाएको सर्वस्वसहित जन्मकैदको सजाय कटाइरहेका कोइरालालाई अदालतले ८ वर्ष ६ महिना मात्रै कैद सजाय सुनाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले कोइरालाले साढे ८ वर्ष मात्रै जेल बस्दा पुग्ने फैसला गरेको छ ।

गत १५ असारमा भएको फैसला हालै मात्रै सार्वजनिक भएको हो । अदालतले आदेशमा कोइरालालाई साविक मुलुकी ऐन अ.ब. १८८ नं. तथा हाल प्रचलित फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १७ (क) अनुसार ८ वर्ष ६ महिना कैद हुने फैसला गरेको हो । ८ माघ २०६८ बाट हालसम्म थुनामा बसेकामा सर्वोच्च अदालतको ठहरबमोजिम ८ वर्ष ६ महिना यही ७ साउनमा पुग्दै छ ।

यसअघि काठमाडौं जिल्ला अदालतका न्यायाधीश महम्मद जुनैद आजादको एकल इजलासले ७ वैशाख २०७१ मा पत्नी गीता ढकालको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद हुने फैसला गरेको थियो । जिल्ला अदालतको फैसलालाई तत्कालीन पुनरावेदन अदालतले २३ मंसिर २०७२ मा सदर गरेको थियो । तत्कालीन पुनरावेदन अदालतले पनि जिल्लाको आदेश सदर गरेपछि कोइराला त्यसविरुद्ध सर्वोच्च अदालत गएका थिए ।राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस्