News Portal

मंगलबार मध्यरातबाट लकडाउन अन्त्य

रातोपोस्ट संवाददाता
५३२ पटक

काठमाडाैं, श्रावण ६ । कोरोना महामारी नियन्त्रणका लागि चैत ११ देखि मुलुकभर लगाइएको बन्दाबन्दी अन्त्य भएको सरकारले घोषणा गरेको छ । सोमवारको मन्त्रिपरिषद्को बैठकले मंगलवार मध्यरातबाट बन्दाबन्दी अन्त्य हुने घोषणा गरेको हो ।

मंगलवार सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बन्दाबन्दी अन्त्य भएको औपचारिक रूपमा बताएका हुन् । ‘गत चैत ११ बाट विभिन्न मितिमा हेरफेर तथा थपघटसहित नेपालभर लागू रहेको बन्दाबन्दीसम्बन्धी व्यवस्था साउन ७ गते मंगलवार मध्यरातपछि अन्त्य गर्ने निर्णय गरिएको छ । बन्दाबन्दी खुले पनि अन्तरराष्ट्रिय सीमा भने साउन ३२ गते मध्यरातसम्मलाई बन्द नै रहनेछन्,’ उनले भने ।

कोरोना संक्रमण फैलने खतरालाई ध्यानमा राख्दै चैत ११ गतेदेखि शुरू भएको बन्दाबन्दी विभिन्न मितिमा म्याद थप्दै जेठ २६ गतेसम्म पूर्ण रूपमा लगाइयो । त्यसयता भने सरकारले क्रमशः बन्दाबन्दी खुकुलो बनाउँदै पसल सञ्चालन गर्न दिने तथा निजी सवारीसाधन जोरबिजोरमा चलाउन पाइने निर्णय गरेको थियो ।

पछिल्लो निर्णयअनुसार साउन १५ गतेबाट होटल तथा रेस्टुराँहरू सञ्चालन गर्न पाइने बताएको छ । बन्दाबन्दीका कारण अहिले होटेलहरू बन्द छन् भने रेस्टुराँहरूलाई सीमित सेवा सञ्चालन गर्ने अनुमति दिइएको छ । होटेलहरू खुले पनि सामूहिक भोज, पार्टीजस्ता गतिविधि गर्न नपाइने सरकारका प्रवक्ता डा. खतिवडाले बताए ।

सरकारले भदौ १ गतेदेखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ । जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरेर शैक्षिक कार्यक्रम अघि बढाउन दिने बताइएको छ । तर, विद्यालयमा अध्यापन कहिलेबाट शुरू हुने भन्ने बारेमा पछि निर्णय गरिने खतिवडाले बताए ।

बन्दाबन्दी अन्त्य भए पनि सुरक्षाका उपाय अपनाउनुपर्ने र केही निश्चित सेवा भने अझै सञ्चालन नहुने सरकारको भनाइ छ । शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थलहरू, ट्युशन सेन्टर, सिनेमा हल, डान्सबार, सैलुन ब्युटिपार्लर स्वीमिङ पुललगायत क्षेत्र अर्को निर्णय नभएसम्मका लागि बन्द नै रहनेछन् ।

नेपालको मुख्य पर्यटकीय सिजनलाई ध्यानमा राख्दै ट्रेकिङ, ट्राभल र पर्वतारोहणसम्बधी कार्यालयहरूलाई साउन १५ बाट सञ्चालन गर्ने अनुमति दिइएको छ । ‘हिउँदे सिजनको पर्यटन व्यवसायलाई ध्यानमा राखेर यो निर्णय गरिएको हो,’ खतिवडाले भने ।

बन्दाबन्दी अन्त्यसँगै सरकारले भदौ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय उडान शुरू गर्ने निर्णय पनि गरेको छ । आन्तरिक तथा अन्तरराष्ट्रिय उडान खोल्ने गरी गृहकार्य गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको पनि डा. खतिवडाले बताए ।

यातायात व्यवसायीको मागलाई सम्बोधन गर्दै सरकारले लामो दूरीको यातायात भदौ १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । लकडाउनको अन्त्य भएसँगै सवारीसाधनमा सञ्चालनमा लगाइएको जोरबिजोर प्रणाली पनि खारेज गरिएको । बुधवारबाट सबै नम्बर प्लेटका गाडी सडकमा सञ्चालन हुन सक्नेछन् ।

तर, छिमेकी मुलुकलगायत अन्य राष्ट्रबाट स्थलमार्ग भई नेपाल प्रवेशमा लगाइएको प्रतिबन्ध साउन ३२ सम्म कायमै गरिएको छ । नेपाल प्रवेश बिन्दु र खुला सीमाको आवागमन साउन ३२ गते आइतवार मध्यरातसम्मका लागि यथावत् राख्ने निर्णय गरिएको खतिवडाले बताए । तर, असहज परिस्थितिमा नेपाल आउनैपर्ने नागरिकलाई भने तोकिएबमोजिम स्थलमार्गबाट प्रवेश दिइने सरकारले बताएको छ ।

प्रतिकृया दिनुहोस्