News Portal

अपराधलाई संरक्षण गर्ने न्यायाधीशमाथि महाअभियोग लगाऔं : डा. भट्टराई

रातोपोस्ट संवाददाता
७८० पटक

काठमाडौं, श्रावण ९ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अपराधलाई संरक्षण गर्ने न्यायाधीशमाथि महाअभियोग लगाउने प्रस्ताव गरेका छन् । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर र न्यायाधिश तेजबहादुर कार्कीले पूर्वडीआईजी रञ्जन कोइरालाको जेल सजाय कटौती गरेपछि भट्टराईले उक्त प्रस्ताव गरेका हुन् । उनले कोइराला रिहा भएको भोलिपल्टै न्यायाधीशमाथी महाअभियोग लगाउन प्रस्ताव गरेका हुन् ।

साथै उनले प्रधानमन्त्री केपी ओलीलाई विदा गरेर नेकपा भित्रैबाट अर्को व्यक्ति चयन गर्न पनि भनेका छन् ।

समाजवादी पार्टीका अध्यक्षसमेत रहेका डा. भट्टराईले देश संकटतिर गएको भन्दै लोकतान्त्रिक ढंगले संकट मोचन गर्न ट्वीटरमार्फत् पांच वटा प्रस्ताव सार्वजनिक गरेका छन् ।
भट्टराईले संसद अधिवेशन बोलाउन, केपी ओलीलाई विदा गरेर नेकपाभित्रैबाट नयां प्रधानमन्त्री चयन गर्न, भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गर्न, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जान र अपराधको संरक्षण गर्ने न्यायाधीशलाई महाअभियोग लगाउन प्रस्ताव गरेका हुन् ।

भट्टराईले अर्को ट्विटमा भनेका छन् ‘पत्नीको हत्या गर्ने डिआइजी अदालतबाट सजाय कटौती गराएर विजयी राजनेता झैं हात हल्लाउँदै निस्कन्छ । जांड खाएर गाडी चलाउंदा सडकपेटीमा मान्छे मार्ने धनाढ्यको छोरो अदालतबाट धरौटीमा रिहा हुन्छ । सांसद अपहरण गर्ने पूर्व आइजीपी विरूद्ध सरकारले मुद्दै चलाउँदैन । यो असफल राज्यको लक्षण नभए के हो?’

प्रतिकृया दिनुहोस्