News Portal

वामदेव ओलीतिर बाङ्गिएपछि प्रचण्ड तनावमा

रातोपोस्ट संवाददाता
१०३४ पटक

काठमाडौं, साउन १५ । बामदेव गौतम पछिल्लो समय प्रचण्ड–माधव गुट छाडेर प्रधानमन्त्री ओलीको गुटमा पुगेका छन् । यद्यपि गौतमले आफु ओली गुटमा नभएको प्रष्टीकरण पनि दिएका छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली नआएपनि स्थायी कमिटी बैठक बस्‍ने र बहुमतले ओलीलाई पछि हट्न बाध्य बनाउने भन्दै मंगलबार प्रधानमन्त्रीकै सरकारी निवास बालुवाटारमा बसेको पार्टी स्थायी कमीटी बैठकमा गौतम आकस्मिक रुपमा अनुपस्थित रहेका थिए । उक्त बैठक पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पनि बहिस्कार गरेका थिए ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बहुमत सदस्य सहभागी बैठकमा अकास्मात गौतम अनुपिस्थत हुनुको रहस्य बाहिर आएको छ । सोमबार राती देखि नै महासचिव बिष्णु पौडेल,५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल लगायत नेताले गौतमलाई घेराबन्दी गरिसकेका थिए । त्यसअघि नै महासचिव पौडेलले सांसद एवं गौतम पत्नी तुलशा थापालाई भेटेर मन्त्री बन्ने सुवर्ण अवसर आएको सुनाएका थिए ।

पौडेलको कुरा सुनेपछि गौतमपत्नीले पनि मन्त्री हुने सपना देख्नु स्वभाविक नै थियो । प्रधानमन्त्रीले छिट्टै मन्त्रीहरु हेरफेर गर्ने योजना बनाएको र त्यसमा प्रचण्डकै बुहारी बिना मगरको मन्त्रालय तुलशा थापालाई दिन सकिने सम्मको आश्वासन दिइएको बुझिएको छ ।

त्यतिबेलासम्म प्रचण्ड–माधव गुटमै रहेका गौतमले एकाएक पत्नीको मन्त्री हुने चाहनालाई गुट फेर्ने बहाना बनाए । बामदेवको ग्रिन सिग्‍नल पाएपछी हर्षित हुँदै बालुवाटार पुगेका महासचिव पौडेललाई अध्यक्ष ओलीले तत्काल वामदेवलाई एक्लै भेट्ने वातावरण मिलाउन आग्रह गरे ।

बालुवाटारमा बनेको योजना अनुसार प्रचण्ड–नेपाल बालुवाटार छिर्नु अगाडि नै अध्यक्ष ओलीले बैठक स्थगितको सुचना बाहिर दिने, वामदेवको नामबाट सहमतिको ‘अचुक उपाय’ नामको पत्र सामाजिक सञ्‍जाल र अनलाईनहरुमा छ्याप्छ्याप्ती बनाउने र साँझ गौतम निवास भैंसेपाटीमा पारिवारीक भेटघाटको नाम दिएर ओली–बामदेवबिच तुलशा थापाको मन्त्रीपद टुङ्ग्याउने सहमती बन्यो ।

यी सबैकुराको सुइँको सम्म पाउन नसकेका प्रचण्ड–माधव गुटको बैठक भने तोकिएकै दिन र समयमा बस्यो तर निर्णय लेख्‍ने माइन्युट समेत पाएनन् । बैठकमा सहभागी नभएका र पर्दा पछाडि बसेर सबै नियाली रहेका महासचिव पौडेलले नै माइन्युट लुकाएका थिए ।

गौतमको हर्कत पछि प्रचण्ड–माधव गुट भित्र अन्य नेतासमेत तरङ्गित हुनथालेपछी अध्यक्ष प्रचण्ड दबाब र तनावमा परेका छन् । एकातिर ओलीसँग सहमति खोज्‍ने जिम्मा प्रचण्डलाई छ भने अर्कोतिर आफ्नो गुटका नेताहरुलाई दायाँबायाँ हुनबाट रोक्नुपर्ने पनि छ । यो अवस्थामा न पार्टी फुटाएर जाने न जुटाएर बस्ने भन्‍ने अन्यौलमा प्रचण्ड पुगेको उनका निकट सहयोगीहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस्