News Portal

वीरगन्जमा थप २ कोरोना संक्रमितको मृत्यु

रातोपोस्ट संवाददाता
४९८ पटक

वीरगन्ज, साउन १६ । वीरगन्जमा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका ३५ वर्षीय युवक र वडा नम्बर २ छपकैयाका ७० वर्षीय वृद्धको बिहीबार मृत्यु भएको हो । नगवाका ३५ वर्षीय युवकको गण्डक अस्थायी कोभिड अस्पतालको आइशोलेसनमा उपचारका क्रममा बिहीबार बेलुकी पौने ८ बजे मृत्यु भएको हो ।

ज्वरो आएपछि साउन ५ गते उनलाई तराइ हस्पिटलमा भर्ना गरिएको थियो । तराइ हस्पिटलमा उपचारका क्रममा उनको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि कोरोनाको आशंकामा उनलाई साउन १३ गते कोभिड अस्पताल भर्ना गरिएको थियो । साउन १३ गते नै उपचारका क्रममा उनको स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो ।

पीसीआर रिपोर्ट नआउँदै बिहीबार बेलुकी पौने ८ बजे उनको मृत्यु भएको कोभिड अस्पतालका चिकित्सक डाक्टर निरज सिंहले जानकारी दिए । उनमा निमोनीयाको जस्तै लक्षण देखिएको र स्वास्थ्य अवस्था पनि जटिल रहेको अवस्थामा उपचारका क्रममा मृत्यु भएको डाक्टर सिंहले जानकारी दिए । बेलुकी पौने ८ बजे मृत्यु भएका उनको प्रयोगशालाबाट राति साढे १० मात्रै उनको पोजिटिभ रिपोर्ट आएकोनारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए ।

यस्तै वीरगन्ज–२ छपकैयामा बिहीबार बिहान आफनै घरमा मृत्यु भएका ७० वर्षीय वृद्धमा पनि कारोना संक्रमण भएको पुष्टि भएको हो । नारायणी अस्पतालको प्रयोगशालाबाट बिहीबार राति १० बजे प्राप्त रिपोर्टमा मृतक वृद्धमा कोरोना संक्रमण रहेको मेसु उपाध्यायले पुष्टि गरेका हुन् ।

छपकैया स्थित घरमा एक्लै बस्दै आएका ती वृद्ध बिहीबार बिहान आफनै घरभित्र मृत अवस्थामा भेटिएका थिए । राति सुतेका उनी बिहान अबेरसम्म नउठेपछि छिमेकीले प्रहरीलाइ खबर गरेका थिए । वडा प्रहरी कार्यालय विर्ताबाट गएको प्रहरी टोलीले घरको मुल ढोका तोडेरभित्र पस्दा वृद्ध आफनै कोठामा मृत अवस्थामा भेटिएका थिए ।

त्यसपछि उनको स्वाब संकलन गरि पीसीआर परिक्षणका लागि नारायणी अस्पतालमा पठाइएको थियो । बिहिबार राति १० बजे उनको पिसिआर रिपोर्ट पोजिटिभ आएको मेसु उपाध्यायले जानकारी दिए । योसंगै वीरगन्जमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सख्या १२ पुगेको छ । वीरगन्जमा कोरोनाका कारण साउन यता मात्रै ९ जनाको मृत्यु भएको हो ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललीत बस्नेतका अनुसार वीरगन्जमा कोरोनाका कारण अहिले सम्म मृत्यु भएका १२ संक्रमीत मध्ये पर्साका ८ , बाराका २ र रौतहटका १ जना हुन् । वीरगन्जमा २ महिना पहिले वेवारिसे भेटिएका एक संक्रमितको भने अहिले सम्म पनि पहिचान खुल्न सकेको छैन । अन्नपूर्णपोस्ट

प्रतिकृया दिनुहोस्